पत्रकार महासंघ : कोशी प्रदेशका १४ वटै जिल्ला अध्यक्षका के छन् योजना ?

मंगलबार, २३ पुस २०८१
इटहरी : गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित भएर नयाँ कार्यसमितिले आफ्नो कार्य सुरू गरिसकेको छ । पत्रकार महासंघको सदस्यता वितरणका साथै शुद्धिकरण लगायतका कारण करिब एक वर्ष पर धकेलिएको महासंघको अधिवेशन पछिका नेतृत्वलाई सञ्चार क्षेत्रका समस्यालाई समाधान गर्नका उत्तिकै चुनौतीपूर्ण छ । महासंघमा रहेर पत्रकारको हक हितका लागि आफ्नो क्षेत्रबाट काम गर्ने प्रतिबद्धताकाबीच निर्वाचित कार्यसमितिले आफूले गरेका बाचा पूरा गर्नु मात्रै नभएर पत्रकार महासंघको गर्विलो इतिहासलाई जोगाउनु पनि रहेको छ । श्रमजीवी पत्रकारहरूको संरक्षण, क्षमता विकासका साथै मिथ्या सूचनालाई निरुत्साहित गर्न पनि महासंघको नेतृत्व सक्रिय रहनु उत्तिकै महत्वपूर्ण रहन जान्छ । पत्रकारहरू विदेश पलायन हुनु, शुद्धिकरणका साथै पत्रकारको सुरक्षाको विषयमा पनि महासंघको नेतृत्वले योजनाबद्ध भएर काम गर्नुपर्ने हुन्छ । यसर्थ, प्रदेश खबरले कोशी प्रदेशमा रहेका १४ वटै जिल्लाको नेतृत्व गर्ने महासंघका नवनिर्वाचित अध्यक्षसँग आफ्नो कार्यकालमा गर्ने योजनाका सन्दर्भमा जिज्ञासा राखेको छ । हेरौँ उनीहरूको जवाफ :– एकराज गिरी (झापा) दोस्रो कार्यकालका लागि पत्रकार महासंघ झापाको नेतृत्व गर्ने अवसर पाएका गिरीले विगतको अनुभवका आधारमा महासंघले काम गर्ने उल्लेख गरेका छन् । [caption id="attachment_80746" align="alignnone" width="1912"] झापा अध्यक्ष एकराज गिरी ।[/caption] ‘हामीले अहिले अक्षयकोषलाई डेढ करोड पु¥याउने, भवनभित्र तालिम कक्षको निर्माण गर्नुका साथै ‘ई–लाइब्रेरी’लाई सञ्चालन गर्नका लागि योजनाबद्ध भएर काम गर्नुपर्ने अवस्था रहेको छ,’ गिरीले भने । उनले पत्रकारको क्षमता तथा स्वरोजगारमुखी मिडियाको व्यवस्थापनका लागि स्थानीय निकायहरूसँगको समन्वयमा काम गर्न जरुरी रहेको उल्लेख गर्दै त्यस कार्यलाई निरन्तरता दिने बताए । पत्रकारिता पेसासमेत समयको मागअनुसार चल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । गिरीले सूचना र प्रविधिको विकासले ल्याएको अवसरलाई समेत सदुपयोग गर्दै लैजानेमासमेत जोड दिए । सुशीला पाठक (मोरङ) पत्रकार महासंघ मोरङको नेतृत्व गर्न सफल भएकी पाठक यस जिल्लाको पहिलो महिला नेत्री पनि हुन् । आफूले महिला अध्यक्षको इतिहास रचेको बताएकी उनले काम पनि ऐतिहासिक गर्ने बताइन् । महिला पत्रकारलाई अवसर, क्षमता विकासका साथै पत्रकारहरूको स्तरोन्नति लागि आफ्नो कार्यकाल महत्त्वपूर्ण हुने उनको भनाई छ । उनले भनिन्, ‘हामीले आवश्यक कार्यान्वयन पनि सुरू गरिसकेका छौँ । जसअन्तर्गत पत्रकारितामा क्रियाशील मोरङका पत्रकार महिला सुत्केरी भएमा १५ हजार पोषण भत्ता उपलब्ध गराउने निर्णय गरिसकेको अवस्था छ । त्यसलाई कार्यविधि तयार गरी व्यवस्थित गर्ने निर्णय भएको अवस्था रहेको छ ।’ [caption id="attachment_80747" align="alignnone" width="1912"] मोरङ अध्यक्ष सुशीला पाठक ।[/caption] पत्रकारहरूको पेसागत हक हितको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित एवम् स्वरोजगार मूलक सञ्चार माध्यमको संरक्षणमा लागिपर्ने कुरामा प्रतिबद्धता जनाउँदै पाठकले पत्रकार महासंघ मोरङका साधारण सदस्यहरूको २०८१ सालको नवीकरण गर्न बाँकी रहेका सदस्यहरूलाई सदस्यता नवीकरणका लागि आह्वान गर्ने कुरा उल्लेख गरिन् । ‘म आफैँ पनि सञ्चार कर्ममा लागिरहने भएकाले पनि मेरा काम भनेको श्रमजीवी पत्रकारहरूको पक्षमा नै रहन्छ,’ उनले भनिन्, ‘पत्रकारहरूको प्रोत्साहनका साथै सञ्चारकर्मीको सुरक्षाका लागि काम गर्नुपर्ने अवस्था छ ।’ सन्तोष काफ्ले (सुनसरी) पूर्ण प्रेस स्वतन्त्रतालाई मुख्य योजना बनाएका काफ्लेले स्वरोजगार मूलक मिडियाको प्रवद्र्धनलाई प्राथमिकता दिने बताएका छन् । सुनसरीमा रहेका मिडिया हाउसलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन उत्प्रेरित गर्दै आवश्यक वातावरण तयार आफ्नो कार्यकालमा गर्ने काफ्लेले बताए । निर्णय पुस्तिका, विभिन्न कालखण्डमा सामाजिक रूपान्तरणका सवालमा महासंघले खेलेका र गरेका महत्वपूर्ण कामकहरूको खोजी गरी इतिहास लेखनको कार्य गर्ने बताएका काफ्लेले संरचनागत विकासमा जोड दिएका छन् । जसअन्तरगत इटहरीमा निर्माणाधीन भवनको पूर्णतासँगै इनरुवा र बराहक्षेत्रमा सम्पर्क कार्यालय सञ्चालन गरिने काफ्लेको दाबी छ । [caption id="attachment_80748" align="alignnone" width="1912"] सुनसरी अध्यक्ष सन्तोष काफ्ले ।[/caption] ‘हामी शुद्धिकरणका क्रममा विभिन्न कारणले नवीकरणमा छुटेका सदस्यहरूको पुनर्विचार, मापदण्ड पुगेका पत्रकारहरूलाई सदस्यता वितरण, सूचना विभागबाट प्रेस पास लिन छुटेका पत्रकारहरुको सूची तयार गर्नुका साथै सीप विकास सम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ,’ उनले भने, ‘पत्रकारहरूलाई न्यू मिडिया ट्रेण्ड प्रशिक्षण र प्रविधिबारेमा अभ्यस्त बनाउन प्रशिक्षण सञ्चालन मेरो कार्यकालमा हुनेछ ।’ काफ्लेले दिवंगत भएका वा अग्रज पत्रकारहरूको नाममा कोष स्थापनाका लागि स्रोतको खोजी गरी पत्रकारहरूका छोराछोरीहरूलाई शिक्षामा सहयोग, क्रियाशील पत्रकारहरूलाई पुरस्कृत र अग्रज पत्रकारहरूलाई सम्मान गर्ने कुरालाई समेत जोड दिए । विदुर खवास (धनकुटा) खवासले महासंघको धनकुटा शाखालाई विशुद्ध पत्रकारहरूको साझा संस्था बनाउने, पत्रकार महासंघ धनकुटाले स्थापना गरेको कोषको रकम वृद्धि गर्ने, धनकुटा जिल्लाका सबै पालिकामा स्थानीय सञ्चार नीति निमार्ण गर्न पहल गर्नेका साथै पत्रकारहरूको दुर्घटना बिमा लगायतका काम गर्ने योजना बनाएका छन् । उनले पत्रकार महासंघ धनकुटाको भवनलाई नयाँ बनाउनका लागि आवश्यक पहल थालिने खवासले बताए । सबैखाले मिडियाको विकास उत्तिकै प्राथमिकतामा रहेको उल्लेख गरेका खवासले युग सुहाउँदो प्रविधिमा भने फड्को मार्ने बताए । [caption id="attachment_80749" align="alignnone" width="1912"] धनकुटा अध्यक्ष विदुर खवास ।[/caption] उनले भने, ‘अनलाइन मिडियाको आफ्नो लोकप्रियता जस्तो छ, त्यस्तै छापा माध्यम र रेडियोको पनि छ । हामीले छोराछोरीलाई जान्ने बनायौँ भनेर भीरबाट हाम्फाल्ने हैन आफू कसरी स्वास्थ्य रहेर लामो जीवन जिउने भन्ने सोच बनाउनु पर्छ । अतः त्यसलाई पनि समय अनुसार परिमार्जित गर्दै जानुपर्छ ।’ खवासले सञ्चारकर्मीलाई समेत पेसागत मर्यादामा रहेर काम गर्न आग्रह समेत गरे । हरिबोल आचार्य (खोटाङ) पत्रकार महासंघ खोटाङको नेतृत्वमा पुगेका आचार्यले पत्रकार महासंघ खोटाङको भवन आगामी दुई वर्ष भित्र बनाइसक्ने गरी योजना बनाइएको उल्लेख गरेका छन् । जिल्लाको भवन नभई रहेको अवस्थामा भवन निर्माणका लागि डीपीआर निर्माणको कार्य सकिएको र चालु आर्थिक वर्षबाटै काम सुरु गर्ने उनले बताए । [caption id="attachment_80750" align="alignnone" width="1912"] खोटाङ अध्यक्ष हरिबोल आचार्य ।[/caption] आचार्यले ज्येष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने, पत्रकार र पत्रकारका परिवारलाई आपतकालमा सहयोग गर्नका लागि बनेको कोषलाई व्यवस्थित गर्दै श्रमजीवी पत्रकारकारहरूलाई एकजुट भएर खोटाङमा अगाडि बढ्ने योजना रहेको बताए । आचार्यले भने, ‘हामीले यहाँका लोकलल्याणकारी विज्ञापन बाहिर पठाउन पनि यहाँकै पत्रकार मार्फत मात्रै पाउनुपर्ने नीति अनुसार अगाडि बढ्छौँ । जुन कार्यले मिडिया हाउस बलियो हुन्छ । मिडिया हाउस बलियो भएमा पत्रकार टिक्ने अवस्था सिर्जना हुन जान्छ ।’ सुवास दर्नाल (सोलुखुम्बु) दर्नालले आफ्नो कार्यकालमा पत्रकार महासंघको भवन बनाइसक्ने कुरालाई जोड दिए । उनले भने, ‘प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको अवस्थामा हामीले जग्गाको व्यवस्थापन गर्नसमेत सकिरहेको छैन । यसलाई तुरून्त व्यवस्थापन गरेर मेरो कार्यकालमा महासंघ जिल्लाको भवन निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छु ।’ [caption id="attachment_80759" align="alignnone" width="1912"] सोलुखुम्बु अध्यक्ष सुवास दर्नाल ।[/caption] सोलुखुम्बुमा पत्रकारबीच नै अस्वस्थ प्रतिस्पर्धा रहेको उल्लेख गर्दै उनले सङ्गठित रूपमा पत्रकारहरूलाई एक बनाएर लैजाने कुरालाई जोड दिए । पत्रकार सुरक्षाका लागि बिमाको समेत अवधारणामा जाने बताएका दर्नालले व्यावसायिक पत्रकारको उत्पादनका लागि क्षमता अभिवृद्धि तालिमको समेत आयोजना गरिने बताए । पूर्णप्रसाद न्यौपाने (ओखलढुङ्गा) पत्रकारका सिर्जनात्मक कार्यलाई जोड दिएका ओखलढुङ्गाका अध्यक्ष न्यौपानेले पत्रकारको डिजिटल साक्षरताका कुरालाई जोड दिएका छन् । सञ्चारमाध्यम मात्रै नभएर आम पाठकले पनि सत्य सूचनाको मात्रै खोजी गर्न आग्रह गरेका न्यौपानेले महासंघका सदस्यलाई एकताबद्ध बनाएर कार्य अगाडि बढाउने उल्लेख गरे । ‘नेतृत्वमा आइसकेपछि हामीले धेरै काम गर्नुपर्ने आवस्यक्ता रहेको छ,’ उनले भने, ‘यसै वर्ष महासंघको निर्माणाधीन भवनको काम सक्ने सदरमुकाममै महासंघको छेवैमा पत्रकारलाई आवास र आवश्यक उपकरणको व्यवस्था सहितको प्रबन्ध गर्ने योजना रहेको छ ।’ [caption id="attachment_80751" align="alignnone" width="1912"] ओखलढुंगा अध्यक्ष पूर्णप्रसाद न्यौपाने ।[/caption] यसले सञ्चारकर्मीहरू सामूहिकतामा जाने भएकाले पनि सत्य सूचना मात्रै सम्प्रेषित हुने कुरामा न्यौपानेले विश्वास लिएका छन् । सदस्यता शुद्धिकरणको विषयलाई पनि गम्भीर रूपमा लिँदै उनले भने, ‘सञ्चारकर्मी पनि राजनीतिक दलमा जान पाउँछ, सरकारी जागिर पनि खानसक्ने हुन्छ, त्यो स्वभाविक हो । साथै, पहिलेका राम्रा कामको निरन्तरताबाटै यो कार्यकाललाई स्वर्णिम बनाउने कुरामा दुईमत हुँदैन ।’ ठाकुर सेनेहाङ ‘टीआर’ (तेह्रथुम) तेह्रथुमको नेतृत्वमा पुगेका सेनेहाङले जिल्ला शाखालाई चलायमान बनाउनका लागि आफ्नो नेतृत्वले महत्वपूर्ण काम गर्ने बताए । पत्रकारिता पेसालाई मर्यादित बनाउनका लागि तेह्रथुम शाखाले सक्रिय रहेर काम गर्ने सेनेहाङको भनाई छ । पत्रकारलाई लेखनवृद्धिको अवसर, सिकाइका लागि कार्यशालाका साथै जिल्लाका स्थानीय निकायसँगको समन्वयमा व्यावसायिक पत्रकारिताका पक्षमा काम गर्ने उनले दाबी गरे । [caption id="attachment_80755" align="alignnone" width="1912"] तेह्रथुम अध्यक्ष ठाकुर सेनेहाङ ‘टीआर’ ।[/caption] लोककल्याणकारी विज्ञापनलाई जिल्लाका सञ्चारमाध्यमलाई उपलब्धताको पहुँच पु¥याउने बताएका सेनेहाङले पत्रकारहरूको सुरक्षाका लागि आफू पदमा हुँदा वा नहुँदा सदैव लागि पर्ने बताए । कृष्णराज शाक्य (सङ्खुवासभा) शाक्यले पत्रकार समाचार लेख्ने मात्रै नभएर समाजको मार्गदर्शक समेत भएकाले सङ्वासभाको विकासका लागि महासंघ खटिने उल्लेख गरे । उनले भने, ‘हामीले निर्वाचित भएको भोलिपल्टै सरसफाइ कार्यक्रम गरेर सुरुवात गरेका छौँ । समाजमा रहेका हरेक कुरामा पत्रकारको भूमिका रहनु पर्दछ भन्ने सङ्खुवासभा शाखाको मान्यता रहेको छ ।’ शाक्यले पत्रकारको क्षमता वृद्धिका लागि तालिम सञ्चालन, भवन निर्माणको कार्य सम्पन्न गर्ने र शुद्धिकरणको अभियानलाई पनि जोडका साथ नेतृत्व गर्ने बताए । [caption id="attachment_80757" align="alignnone" width="1912"] सङ्खुवासभा अध्यक्ष कृष्णराज शाक्य ।[/caption] उनले भने, ‘यहाँका मिडिया हाउस बचाउनका लागि हामीले स्थानीय निकायसँगको समन्वयमा काम गर्नुपर्नेछ ।  मिडियाको अस्तित्व रहेमा मात्र पत्रकारको रहन्छ भन्ने कुरा सङ्खुवासभा शाखाले जोड दिएको छ ।’ सुवास आचार्य (ताप्लेजुङ) डिजिटल मिडियाको प्रवर्धनका साथै विकासका कुरालाई जोड दिएका ताप्लेजुङ शाखाका अध्यक्ष आचार्यले तथ्यपरक समाचारलाई प्रर्बधन गर्ने कुरालाई जोड दिएका छन् । ‘अहिले हामीले सामाजिक सञ्जालकै आधारमा धेरै कुराहरूलाई सम्प्रेषित गरिरहेका हुन्छौँ,’ उनले भने, ‘त्यसलाई व्यवस्थित कसरी गर्नुपर्ने भन्ने कुरा नै हाम्रो प्राथमिकताको विषय पनि हो ।’ [caption id="attachment_80754" align="alignnone" width="1912"] ताप्लेजुङ अध्यक्ष सुवास आचार्य ।[/caption] प्रविधिलाई सही सदुपयोग गर्न सकेमा सञ्चारकर्मीको क्षमता विकासका साथै टिक्न सक्ने अवस्था पनि बन्ने कुरा उल्लेख गरेका आचार्यले यसलाई व्यवस्थित गर्न जिल्ला शाखा अग्रसर भएर लाग्ने बताए । आफ्नो नेतृत्व पत्रकारको पेसागत सुरक्षाको लागि लड्ने आचार्यको भनाई छ । भीमकुमार बाँस्कोटा (पाँचथर) बाँस्कोटाले श्रमजीवी पत्रकारहरूका लागि लेखन वृद्धिका कार्यक्रम ल्याइने कुरालाई जोड दिएका छन् । महासंघको कार्यालयलाई व्यवस्थित गर्ने, पत्रकारहरूलाई प्रविधिमा अब्बल बनाउनका निम्ति (एआई) सम्बन्धी तालिम सञ्चालन गर्ने, स्थानीय तहमा सञ्चार नीति निर्माण गर्ने कुलाई जोड दिने कुरा आफ्नो प्राथमिकताका विषय रहेको बताए । [caption id="attachment_80758" align="alignnone" width="1912"] पाँचथर अध्यक्ष भीमकुमार बाँस्कोटा ।[/caption] उनले भने, ‘हामीले यहाँ पत्रकारिता विषयमा उच्च शिक्षा हासिल गर्न चाहने पत्रकार महासंघ पाँचथरका सदस्यहरूलाई छात्रवृत्तिको व्यवस्था मिलाउने, पुरस्कार कोष वृद्धिका लागि काम गर्नेका साथै अग्रज पत्रकारलाई सम्मान र नयाँ पत्रकारलाई प्रोत्साहन कार्यक्रम गर्ने कुरामा पाँचथर शाखाले अग्रसर भएर काम गर्ने छ ।’ पत्रकारको भौतिक सुरक्षा, पेसागत सुरक्षा र क्षमता विकासका लागि खरो उत्रने बाँस्कोटाको प्रतिबद्धता रहेको छ । भीम चापागाईँ (इलाम) चापागाईँले आफ्नो कार्यकालका लागि पत्रकारहरूको पेसागत दक्षता क्षमता अभिवृद्धिमा जोड दिएका छन् । दलित, आदिवासी जनजाति, महिला, अपाङ्गता भएकालगायत पत्रकारलाई पत्रकारितामा प्रोत्साहन गर्न र यही पेसामा स्थापित गराउनका निम्ति छुट्टै पुरस्कार कोष स्थापना गर्नेगरी योजना बनाइएको उनले बताए । स्थानीय सरकारसँग मिडिया ऐन–नीति निर्माणमा सहकार्य, आधारभूत र प्रविधिमैत्री तालिम, विधागत रूपमा लेखन वृत्तिको व्यवस्था, विज्ञापन सूचनाको समानुपातिक वितरण प्रणालीमा जोड, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमको दुरुपयोगमा सजग रहँदै पत्रकारितामाथि भइरहेको आक्रमण र बदनामी अन्त्य गर्न खबरदारीका साथै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रभावकारी पहल चाल्ने उनले बताए । [caption id="attachment_80753" align="alignnone" width="1912"] इलाम अध्यक्ष भीम चापागाईँ ।[/caption] विभिन्न अस्पतालमा पत्रकार र तिनका परिवारलाई दिइने गरेको उपचार सहुलियत सुविधा सबै पत्रकारसम्म पु¥याउन पहलमा साथै पत्रकार र उनीहरूका परिवारको स्वास्थ्य बिमा, दुर्घटना बिमा, मिडिया पत्रकारका सञ्चार सामग्रीको बिमा, सवारी साधन र जीवन बिमामा छुट सुविधा सम्भावनाको खोजी खोजी गरी कार्यान्वयन गरिने चापागाँईले बताए । ध्रुव सुवेदी (भोजपुर) सुवेदीले महासंघलाई चलायमान बनाउनका लागि आफू नेतृत्वको महासंघ क्रियाशील रहने बताए । जिल्लाका सञ्चार माध्यमका साथै सञ्चारकर्मीको हकका निम्ति विभिन्न संघ संस्थासँगको समेत सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने उनको भनाई छ । ‘पत्रकारिताको मान्यता, नैतिकता र मापदण्डको पालना गर्दै सञ्चार माध्यमको व्यावसायिकता, स्वतन्त्रता र पारदर्शितालाई थप मजबुत बनाउने कुरामा म प्रतिबद्ध छु,’ उनले भने, ‘पत्रकारिता क्षेत्रको सशक्तीकरण, व्यावसायिक सुधार, मल्टिमिडियालाई प्रोत्साहन र सुद्धिढिकरणका लागि मेरो कार्यकाल असल साबित हुने छ ।’ [caption id="attachment_80752" align="alignnone" width="1912"] भोजपुर अध्यक्ष ध्रुव सुवेदी ।[/caption] उनले लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यावसायिक निष्ठा, श्रमजीवी पत्रकारको हकहित र मिडिया उद्योगको विकासप्रति प्रतिवद्ध भएर महासंघको गरिमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको हकहित र व्यावसायिक विकासका मुद्दाहरूमा आफू प्रतिवद्ध रहने उल्लेख गरे । भक्तिविलास पोखरेल (उदयपुर) महासंघ उदयपुरका अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा पत्रकारको क्षमता विकासका साथै सञ्चार संस्थालाई बचाउनका लागि स्थानीय तथा प्रदेश सरकारसँग घचघच्याइने बताए । उनले भने, ‘श्रमजीवीका पक्षमा महासंघ उदयपुर काम गर्न तयार रहेको छ ।’ [caption id="attachment_80756" align="alignnone" width="1912"] उदयपुर अध्यक्ष भक्तिविलास पोखरेल ।[/caption] सुरुवाती चरणमै रहेकाले योजनाको खाका तयार भइरहेको पोखरेलले बताए । यो पनि – पत्रकार महासंघ निर्वाचन : कोशी प्रदेशका १४ वटै जिल्लामा को कहाँ निर्वाचित ?

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार