सुनसरी : जिल्ला अस्पताल सुनसरी इनरुवामा आँखा शिविरको आयोजना गर्न लागिएको छ ।
ईनर ह्वील क्लब अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा आँखा शिविरको आयोजना गर्न लागिएको हो ।
माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको शिविरमा आँखा जाँच गर्न आउने सबै बिरामीको परीक्षण गरी आवश्यक औषधोपचार सेवा दिइने जनाइएको छ ।
शिविर बारे जानकारी गराउँदै डी.एन.ग्रुप अफ कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य साथ निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको आयोजना गर्न लागिएको जनाएको छ । बढी भन्दा बढी सर्वसाधारणले स्वास्थ्य लाभ उठाउन सकुन् भनेर प्रचारप्रसारमा विशेष ध्यान दिइएको उसले जनाएको छ ।
यसअघि गरिब तथा विपन्न परिवारको हकमा सहायता प्याकेज उपलब्ध गराउँदै आएको डी.एन.ग्रुपले यस पटक भने आम सर्वसाधारण लक्षित गरी जिल्ला अस्पतालमै वृहत आँखा शिविरको आयोजना गर्न लागिएको जनाएको छ ।
सुनसरी जग्गा तथा आवास विकास सङ्घ समेतको संयोजनमा सञ्चालन गर्न लागिएको शिविरमा इनरुवा नगरपालिका र जिल्ला अस्पताल इनरुवा समेतको सहयोग जुटाई वृहत रूपमा आयोजना गर्न लागिएको आयोजक ईनर ह्वील क्लब अफ पाटनले जनाएको छ ।
आयोजकका अनुसार जिल्ला अस्पतालमा आयोजना हुने निःशुल्क आँखा शिविरमा जोकोहीले आँखा जाँच गराउन सक्ने छन् । जाँचका क्रममा मोतीबिन्दु भेटिएका सबै आँखाका बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिने छ । आयोजकका अनुसार शल्यक्रिया शिविर भने माघ १३ गते कोशी आँखा अस्पतालमा हुने छ ।
प्रतिक्रिया