विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ काशीजान टोलमा पुरुषको शव भेटिएको छ । टाउकोको भाग नालीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुनवर्षी–४ खिर्कीडाँगीका अन्दाजी ५५ वर्षीय कात्तिकलाल सुतिहार मृत फेला परेका हुन् । शव फेला परेको भनेर बिहान ८ः३० बजेतिर प्रहरीलाई घटनाको जानकारी आएको उनको भनाइ छ ।
सडकको नालीमा टाउको डुबेको अवस्थामा शव फेला परेको स्थानजिक साइकलसमेत भेटिएको थियो । कााशीजान टोलबाट साइकलमा खिर्कीडाँगीस्थित घरतर्फ फर्कने क्रममा मंगलबार राति घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
‘घटनाको प्रकृति हेर्दा रातको समयमा हिलाम्य सडकमा साइकल चिप्लिएर टाउको नालीमा बज्रदा डुबेर घटना भएजस्तो देखिन्छ । टाउको नालीमा बज्रिएपछि उठ्न नसकेको हो कि भन्ने हो । नालीमा करिब २–३ फिट पानी जमेको रहेछ । त्यही पानीमा टाउको डुबेको अवस्थामा शव फेला परेको हो,’ प्रहरी स्रोतले भन्यो । प्रहरीका अनुसार घटनास्थलमै लडिरहेको अवस्थामा साइकल फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ ।
डीएसपी जोशीले घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
प्रतिक्रिया