अध्यादेशबाट सरकारले काम गर्नु असंवैधानिक हैन : मुख्यमन्त्री कार्की 

शनिबार, १२ माघ २०८१
विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताएका छन् । आज प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै  मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताए । कार्कीले भने ,  'यो पनि संवैधानिक व्यवस्था हो ,जनतालाई राहत दिनका लागि गरिएको काम भएको र यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।' अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत भएको टिप्पणी गर्दै  मुख्यमन्त्री कार्कीले यो आरोप लगाउनका लागि गरिएको काम मात्र भएको बताए । नेपाली कांग्रेस र नेकपा एमाले बिचको सहमतिबाट बनेको यो सरकारबाट उत्साह छाएको र यसको सकारात्मक नतिजा आउन थालेको कार्कीले बताए । उनले भने 'अहिले राजस्व वृद्धि भइरहेको छ। सरकारको पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ ,अर्थतन्त्र चलायमान भएको छ।' कोशी प्रदेशमा पनि २५ प्रतिशतले राजस्व वृद्धि गरेको चर्चा गर्दै कार्कीले प्रदेश सरकारले  राखेको लक्ष्य पूरा हुने बताए । कार्कीले भने पछिल्लो समयमा सञ्चार माध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै हामीले यथार्थ  समाचारलाई  सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । कार्कीले कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आमसञ्चार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 'हामी यस पटक कानुन पास गरेरै पत्रकारको हितमा काम गर्छौँ मुख्यमन्त्री'  कार्कीले भने  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार