मोरङको बेलबारीमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु

शनिबार, १२ माघ २०८१
विराटनगर : मोरङको बेलबारीमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा शनिबार दिउँसो दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–४ का अन्दाजी ८२ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो । पैदलमा रहेका उनलाई मोटरसाइकलले दिउँसो १ः१५ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक मोरङको धनपालथान गाउँपालिका–२ का २५ वर्षीय सुमन कटवाल र पछाडि सवार ३२ वर्षीय सञ्जय पासवान घाइते भएका छन् । प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य छ । मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार