विराटनगर । जंगली जनावर हरिणको मासु काट्दै गरेका एक जना मोरङको लेटाङ नगरपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट शनिबार साँझ पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार लेटाङ–९ का ४७ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो । हरियाली सामुदायिक वनस्थित जाँते–पथरी भित्री सडक खण्डभन्दा करिब ३ सय मिटर पूर्वमा मृत हरिण रहेको जानकारी प्रहरीलाई आएको थियो ।
अस्थायी प्रहरी चौकी जाँते र वन कार्यालयको संयुक्त टोलीले खोजी गर्ने क्रममा मासु काट्दै गरेको अवस्थामा मृत हरिणसहित राईलाई फेला पारिएको जोशीले बताए ।
उनका अनुसार घटनास्थलबाट को ११ प ६०५८ नम्बरको मोटरसाइकल, खुकुरी, मोबाइल तथा नगद ६ हजार ५ सय ६५ रूपैयाँ पनि बरामद भएको छ ।
मृत हरिणसहित पक्राउ परेका राईलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वन कार्यालयको जिम्मा लगाएको छ ।
हरिणलाई बन्दुकले हानेर मारेको हुनसक्ने प्रहरीले जनाएको छ । यद्यपि, अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने छ ।
प्रतिक्रिया