उद्योगी–व्यवसायीलाई विदेश पलायन हुन दिँदैनौँ, काँग्रेसले यसमै काम गर्छ : उर्मिला थपलिया

आइतबार, १३ माघ २०८१
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले मुलुकका उद्यमी एवम व्यवसायीहरुको समस्याको सम्बोधन कांग्रेसले मात्र गर्न सक्ने बताएकी छिन् । नेपाल न्यूज बैङ्कसँग विशेष कुराकानी गर्दै उनले देशभरका उद्यमी, व्यवसायी एवम् नव उद्यमीहरूका समग्र समस्याहरूको सम्बोधन गर्न काँग्रेसले विशेष अभियान सुरु गर्ने पनि बताइन् । उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्टअप र एसएम्इ सम्मेलनको आयोजना गर्नुको उद्देश्य पनि उद्यमीहरूका समस्याहरू र सम्भावनाहरू एउटै मञ्चमा खोजेर समाधानको बाटोमा लैजानु पनि रहेको उनले बताइन् । ‘खास गरी नव उद्योगीहरूका समस्याहरूलाई काँग्रेसले समाधान गर्छ भन्ने सन्देश हामीले दिनुपर्नेछ । धेरै युवाहरू पलायन भए भनेर भाषण मात्र गर्ने हाम्रो परिपाटी छ । तर हामी स्वदेशमै अवसर सिर्जना गर्न पनि सक्षम छौँ भन्ने सन्देश पनि दिन चाहन्छौँ । युवा पलायनबारे भाषण गरेर समाधान हुन सकेन । नेपालमै युवाहरू बसुन् , रोजगारी पाएर काम गरुन् भन्ने वातावरण बनाउन सम्मेलन आयोजना गरिएको हो,’उनले भनिन् । उनले साना तथा मझौला व्यवसायीहरूका थुप्रै समस्याहरू रहेकाले त्यसको सम्बोधन गर्न पनि काँग्रेसले सक्छ भन्ने सन्देश दिनुपर्ने आवश्यकता रहेको औँल्याइन् । ‘व्यवसायीहरू असफल भयौँ भनिरहनुभएको छ । काम गर्दागर्दै असफल भएर विदेशतिर पलायन भएँ भनिरहनुभएको छ । तर त्यसको समाधान गर्न सकिन्छ भनेर एउटै मञ्चमा आवाजहरू सङ्कलन गरेर एक्सनमा काम गर्न चाहेका छौँ,’उनले भनिन् । काम गर्ने सिलसिलामा साना तथा मझौला व्यवसायीहरूको स–साना धेरै समस्याहरू रहेकाले त्यसको सम्बोधन गर्न काँग्रेसले पहल गर्ने पनि उनले विश्वास दिलाइन् । ‘जति साना तथा मझौला व्यवसायहरू दर्ता भए त्यसमध्ये ३० प्रतिशत व्यवसायहरू मात्र सफल भएका छन् भन्ने छ । व्यवसायहरू दर्ता गर्ने प्रणालीमा समस्या व्यहोरि रहनुपरेको छ । करमा समस्या छ । यस्ता धेरै समस्याहरू नेताहरूले बुझ्नुपर्छ । नेताले नबुझे समस्याको समाधान हुँदैन । नीति निर्माण गर्ने सम्बन्धित निकायहरूसँग पनि अन्तरक्रिया गर्नुपर्छ भनेर सम्मेलनको आयोजना गर्न तत्पर भएका हौँ,’थपलियाले सुनाइन् । यसैगरी उनले नव उद्योगीहरूलाई प्रोत्साहन स्वरूप काँग्रेसले त्यसलाई सहयोग पनि गर्ने र छलफलको माध्यमबाट ल्याएर समग्र समस्याहरू सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइन् । समस्याहरू जरोसम्मै पहिलाएर समाधानको बाटो खोज्ने उनले बताइन् । उनले उत्पादित भएको बस्तुहरू सही ठाउँमा प्रयोग गर्न आवश्यक रहेको बताइन् । उनले कृषकहरूका धेरै समास्याहरु रहेको बताउँदै, कृषकहरूको समस्याको समाधान गर्ने पार्टी नै कांग्रेस भएको दाबी गरिन् । उनले कृषक र उद्यमीहरूको समस्या समाधान गर्ने थलो भनेको काङ्ग्रेस हो भन्ने कुरा स्थापित गर्नुपर्ने भन्दै त्यसको सुरुवात गर्ने बताइन् । उनले उद्यमीहरूको लागि नेपालमा दर्ता र करको साथै बजार व्यवस्थापनको पनि ठुलो चुनौती रहेको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘पहिलो कुरा दर्ता प्रक्रियामा एकदमै समस्या छ । वडा, पालिका, प्रदेश सबैतिर जानुपर्ने झन्झटिलो प्रक्रिया छ । यस्तै करमा पनि समस्या छ । उत्पादनको बजार व्यवस्थापन भएको छैन । नेपालको सामानलाई प्रोत्साहन गर्नको लागि त हाम्रो बजार खुल्ला हुनुपर्ने हो तर त्यो छैन । किनभने बाहिरबाट ल्याएका सामान सस्तो हुन्छ, नेपालभित्रै उत्पादन भएको सामान महँगो हुन्छ भन्ने सन्देश बाहिर गएको छ । बजार व्यवस्थापन पनि मुख्य चुनौतीको रूपमा देखा परेको छ,’उनले अगाडि भनिन्,‘यस्ता कुराहरूलाई मन्थन र गन्थन गरेर निचोड निकाल्न सकिन्छ की भनेर हामी क्रियाशील भएका हौँ । व्यवसायीहरूलाई विचलित हुन नदिन हाम्रो प्रयास हो । व्यवसायीहरूलाई पलायन हुन नदिन नीतिगत सुधार गरेर अघि बढ्न काँग्रेसले मात्र सक्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने छ ।’ उनले कुनै उद्योग खोल्नको लागि सरकारी, निजी बैङ्कले कारखाना धितो राखेर लोन दिने हो भने स्वतन्त्र भएर काम गर्न पनि बताइन् । व्यवसाय फस्टाउनको लागि नीतिको आवश्यक हुने हुँदा कतिपय कुरामा नीतिले नै समस्या पारिरहेको पनि उनको भनाई छ । उनले काँग्रेसको अबको मूल एजेन्डा आर्थिक रूपान्तरण हुनुपर्ने र त्यसका लागि उद्योगीहरूलाई सहज वातावरण बनाउनुपर्ने रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार