इटहरी । इटहरीकी उपमहानगरपालिकाकी उपमेयरलाई लिखित आत्मा आलोचना गर्न कर्मचारीले ४८ घण्टे अल्टिमेटम दिएका छन् ।
इटहरी उपमहानगरपालिका कार्यवाहक मेयरको हैसियतमा सङ्गीताकुमारी चौधरीले प्रशासन शाखा प्रमुखलाई दुर्व्यवहार गरेको विषयमा कर्मचारीहरूले ४८ घण्टे अल्टिमेटम दिएर काममा फर्किएका हुन् ।
कार्यवाहक मेयर चौधरीले शुक्रवार प्रशासन शाखाका प्रमुख सञ्जीव खड्कामाथि दुर्व्यवहार गरेको विषयलाई लिएर कर्मचारीहरूले आज बिहान १० बजेदेखि २ घण्टा काम ठप्प पारेका थिए ।
कर्मचारीहरू उपमहानगरपालिका परिसर भित्र कार्यालय बाहिरै बसेर केही बेर काम रोकेपछि मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएर काममा फर्किएका छन् ।
उनीहरूले मेयर पौडेललाई ज्ञापन पत्र बुझाउँदै चौधरीले ४८ घण्टाभित्र माफी माग्नुपर्ने नत्र थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
इटहरीका मेयर हेमकर्ण पौडेल पारिवारिक कामले भारत गएपछि उपमेयर चौधरीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । कार्यवाहकको जिम्मेवारी पाएकी चौधरीसहित एमालेबाट विजयी भएका केही वडाध्यक्षसहित प्रशासन शाखामा पुगेर शुक्रवार खड्कामाथि दुर्व्यवहार गरेकी थिइन् ।
चौधरीले खड्कालाई दुर्व्यवहार गरेसँगै प्रशासन शाखामा तालाबन्दी समेत गरेकी थिइन् ।
कर्मचारीहरूले अल्टिमेटम दिएर काममा फर्किएता पनि प्रशासन शाखामा लागेको ताला भने खुलेको छैन । प्रशासन शाखामा लगाएको ताला पनि स्वयम् चौधरीले नै खोल्नुपर्ने कर्मचारीहरूको माग रहेको छ ।
एकीकृत सरकारी कर्मचारी सङ्गठन सुनसरी, राष्ट्रिय कर्मचारी सङ्गठन सुनसरी, नेपाल निजामती युनियन सुनसरी र नेपाल निजामती कर्मचारी युनियन इटहरी कमिटीले संयुक्त विज्ञप्ति निकालेर आत्मआलोचना गर्न र ताला खोल्न ४८ घण्टे अल्टिमेटम दिएका हुन् ।
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया