धरानमा मेडिकलबाटै हुन्छ लागूऔषधको कारोबार, एक दम्पती पक्राउ

मंगलबार, १५ माघ २०८१
इटहरी : धरानमा मेडिकलबाटै लागूऔषधको कारोबार भएको पाइएको छ । यसअघि प्रदेश खबरले धरानसहित विभिन्न ठाउँमा मेडिकलबाटै लागूऔषधको कारोबार भएकोबारे समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशनपछि प्रहरीले यसबारे निगरानीसमेत बढाएको थियो । यसैबीच धरान उपमहानगरपालिका ३ गौधारास्थित बाट प्रहरीले लागूऔषधसहित एक दम्पतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गएराति ११ः३० बजेतिर सोही ठाउँका यज्ञ श्रेष्ठको घरको भुइँतलामा सटर भाडामा लिएर वनेम मेडिकल सञ्चालक गर्दै आएका ४१ वर्षीय सुरज वनेम र उनकी श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठले मेडिकलमा लागूऔषध र नियन्त्रित औषधी बिक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा प्रहरी टोली खटिएर नियन्त्रणमा लिएको हो । खानतलासी गर्दा कार्टुनभित्र लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध ट्रमाडोल ५० लेखिएको दुई सय पत्तामा दुई हजार चक्की र प्रतिबन्धित औषधी स्पास्पेन ७९३ पत्तामा सात हजार नौ सय ३० चक्कीसहित नियन्त्रणमा लिइएको डीएसपी जुबेगुले बताए । उनका अुनसार मेडिकलबाटै लागूऔषधको कारोबार भइरहेको सूचना प्राप्त भएसँगै प्रहरीले विशेष निगरानी बढाएको छ । लागूऔषध दुर्व्यसनीको कारण चोरी, लुटपाट, कुटपिट, झैँ–झगडा लगायतका आपराधिक घटनासमेत हुने गरेकाले अनुसन्धान तथा निगरानी बढाइएको उनको भनाइ छ । उपचारका लागि स्वीकृत लिएका औषधी पसलहरूबाटै प्रतिबन्धित औषधीहरू बिक्री गर्ने थलोको रूपमा मेडिकलहरू सञ्चालन भइरहेकोले यसतर्फ निगरानी बढाएको डीएसपी जबेगुले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार