उमागौरी सहकारी रकम अपचलन प्रकरण : सकिएन अध्यक्षको बयान, कहिले हुन्छ थुनछेक बहस ?

मंगलबार, १५ माघ २०८१
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अध्यक्ष शम्भुप्रसाद रौनियारको बयान मंगलबार पनि सकिएन । सहकारीको रकम अपचलन सम्बन्धी मुद्दा दर्ता भए पनि उनी लामो समयदेखि फरार भएका थिए । तर, जिल्ला अदालत मोरङमा सोमबार ‘सुटुक्क’ हाजिर भएका रौनियारको बयान न्यायाधीश अरुणकुमार झाको इजलासमा जारी छ । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सोमबार र मंगलबार दुई दिन लिँदा पनि बयान सकिएन । ‘उहाँ (रौनियार)ले अलि बिरामी छु भन्नु हुन्छ । बयानमा सोधिएका प्रश्नको जवाफ ढिलो दिनु हुन्छ । दुई दिन लगातार लिँदा पनि बयान सकिएको छैन,’ उनले भने । बयान नसकिएपछि रौनियारलाई पुनः प्रहरीको जिम्मा लगाएर पठाइएको बुढाथोकीले बताए । सोमबार पनि उनलाई प्रहरीकै जिम्मा लगाएर पठाइएको थियो । रौनियारले अब थप दुई प्रहरी हिरासतमा बस्नुपर्ने छ । प्रहरीले उनलाई शुक्रबार मात्रै अदालत उपस्थित गराउने छ । बुधबार र बिहीबार सार्वजनिक बिदा परेकाले उनलाई प्रहरीकै हिरासतमा राख्नुपर्ने हुन्छ । सार्वजनिक बिदा सकिएपछि उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराउने तयारी रहेको बुढाथोकीले बताए । रौनियारको बयान शुक्रबार सकिएमा त्यसै दिन वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने सूचना अधिकारी बुढाथोकीको भनाइ छ । उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मंसिर २७ गते मुद्दा दायर भएको थियो । थुनछेक बहसपछि मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । गत पुस २४ गते अदालतमा उपस्थित भएकी सहकारीको पूर्वसञ्चालक अन्जला कोइराला १० लाख धरौटीमा छुटिसकेकी छन् । यसैगरी मोरङको रंगेली नगरपालिका–२ का अध्यक्ष सन्तलाल खवासले पाँच लाख धरौटी रकम बुझाएर छुटेका छन् । यो पनि – उमागौरी सहकारी रकम अपचलन प्रकरण : अध्यक्ष अदालतमा हाजिर भए

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार