गाउँ रित्तिएर आउन सक्ने संकटबाट जोगिन गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरुरी : राष्ट्रपति पाैडेल

बुधबार, १६ माघ २०८१
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रूपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने संकटबाट जोगाउनका लागि गाउँमै आम्दानी र रोजगारीको व्यवस्था पहिलो आवश्यकता भएको बताएका छन्। राष्ट्रपति पौडेलले लमजुङ सोतीपसलस्थित मंगला उच्च माविको हीरक जयन्ती समारोहलाई बुधबार सम्बोधन गर्दै गाँउ गाउँको माटोमा कृषि क्रान्ति गरी कृषि पेशालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुखी पेशामा रुपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले कृषिजन्य उद्योग र नयाँ-नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रबन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग ल्याउनुपर्ने बताए। राजनीतिक परिवर्तन पछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्याान केन्द्रित हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको उनको भनाइ छ। ‘राजनीतिक परिवर्तन पछि हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ। गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार हो। तर आज म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिदैछन् त्यति त्यति गाउँ रित्तिदैछन्। शिक्षण संस्थामा विद्यार्थी संख्या बढ्नुको साटो घट्दो छ। ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको छ। उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ। पछिल्लो समय गाउँबाट शहर र सहरबाट विदेशिने श्रृंखला अटुट छ।’ राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि हाम्रो शिक्षालाई उद्यमशीलतासीत जोड्नुपर्ने बताउँदै अलिकति अठोट गर्ने हो भने त्यो सम्भावना र हाम्रो जीवन यही प्रकृतिमा सुखी र खुशी हुन सक्ने स्पष्ट पारे। ‘गाउँमा जुन सुविधा पुगेको छ त्योसँगै आम्दानी र रोजगारी कसरी पुर्‍याउने आजको यक्ष प्रश्न नै यही हो। यसका लागि कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण गरी औधोगिकीकरणतर्फ फड्को मार्नुको विकल्प छैन,’ उनले भने। गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन तथा रोजगारी अभिवृद्धि, कृषि उत्पादनको निर्यात अनि कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय अठोटको अवस्था सृजना गर्नुपर्ने आजको आवश्यकता भएको उनले बताए। उद्यामशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्ने र नीति निर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ। राष्ट्रपति पौडेलले विदेश नगईकन मातृभूमिको माटोमा कृषि कर्म, उद्यम र व्यवसाय गरी लाखौ कमाउने गरेका कतिपय दृष्टान्तले आशा र उत्साह जगाउने बताउँदै वास्तवमा देशको लागि उत्पादनशील जनशक्ति आवश्यक रहेको बताए। राष्ट्रपति पौडेलले आफू जन्मे हुर्केको नेपालको मध्यभागमा अवस्थित यो सुरम्य रिस्ति उपत्यकामा उभिँदा भावुक भएको बताउँदै बाहुनपोखराको एउटा किसानको छोरो आफ्नो लोकतान्त्रिक राजनीतिक निष्ठा, सिद्धान्त र आदर्शबाट कत्तिपनि बिचलित नभई जेलनेल, संघर्ष र यातनाको रत्तिभर पर्वाह नगरी राष्ट्रपतिसम्म बनेको बताए। ‘त्यसैले म तपाईंहरूप्रति, सम्पूर्ण नेपाली र नेपालप्रति सदैव कृतकृत छु। देशको मध्यविन्दुमा रहेको यो मध्यनेपाल नगरपालिका र रिस्तीक्षेत्रलाई बहुआयामिक विकास अवधारणाअनुरुप रिस्ती उपत्यका एकिकृत विकास योजनाकारुपमा अघि बढाउनेतर्फ मेरो विशेष ध्यान रहने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार