खाद्यवस्तुको गुणस्तर मापन इलाममा नै गराउन उद्योग वाणिज्य सङ्घको माग

बुधबार, १६ माघ २०८१
इलाम : इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले इलाममा गुणस्तर नियन्त्रणको कार्यालय नहुँदा जिल्लाका व्यवसायीलाई समस्या हुने गरेको बताएका छन् । 'उद्यमशीलता विकास तथा व्यवसाय प्रवर्द्धनका लागि खाद्य स्वच्छता' सम्बन्धी तालिम समापनका अवसरका बोल्दै उनले जिल्लाबाट वस्तुको परीक्षणका लागी अन्य जिल्ला लैजाँदा समस्या हुने गरेको बताएका छन् । व्यवसायीले उत्पादन गरेका वस्तु विराटनगर सम्म पुराउँदा तराईको तापक्रमले यहाँ उत्पादित वस्तुहरू बिग्रिने गरेकाले इलाममा नै गुणस्तर मापन गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरे । उत्पादित वस्तुको प्रवर्द्धनका लागि उद्यमशीलता विकास तथा व्यवसाय प्रवर्द्धनका लागि खाद्य स्वच्छता सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । तालिममा उत्पादित वस्तु लेवलिङ, प्याकेजिङ तथा ब्राण्डिङ कसरी गर्ने विषयमा जानकारी गराइएको थियो । तालिममा जिल्लाका २० जना उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको इलाम उद्योग वाणिज्य सङ्घका महासचिव हेमन्त गौतमले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्राविधिक सहयोग तथा अमेरिकन कर्नर तथा इलाम उद्योग वाणिज्य सङ्घ इलामको आयोजनामा भएको हो । तालिमलाई डिभिजन गुण नियन्त्रण कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्ती र खाद्य शास्त्री श्रद्धा पौडेलले सहजीकरण गरेको अमेरिकन कर्नर इलामका हेम पौडेलले जानकारी दिए । अमेरिकन कर्नर तथा वाणिज्य सङ्घले उद्योगी व्यवसायीलाई समय समयमा आइपर्ने समस्याका विषयमा सहजीकरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार