पहिचान पक्षधरद्धारा कोशी प्रदेश सरकारसँग वार्ता गर्न अस्वीकार

बुधबार, १६ माघ २०८१
विराटनगर : कोशी प्रदेशको पहिचान पक्षधर समूहले प्रदेश सरकारसँग वार्ता गर्न अस्वीकार गरेका छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणसँग सम्बन्धित विवादका कारण प्रदेश सरकारले वार्ताका लागि आह्वान गरे पनि आन्दोलनरत समूहले त्यसलाई अस्वीकार गरेको हो। गत शनिवार केबलकार निर्माणको विरोधका क्रममा पहिचान पक्षधर प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो। घटनामा २१ प्रहरी र ५ प्रदर्शनकारी घाइते भएका थिए, जसमा २ जनालाई गोली लागेको थियो। यसै क्रममा, प्रदेश सरकारले मङ्गलवार पहिचान पक्षधरलाई वार्ताका लागि बोलाएको थियो। तर, पहिचानवादी मोर्चाले वार्ता सङ्घीय सरकारसँग मात्र गर्ने अडान राख्दै प्रदेश सरकारसँग छलफल गर्नुको कुनै अर्थ नरहेको बताएको छ। 'यो विषय केन्द्रसँग जोडिएको छ। वार्ता सङ्घीय सरकारसँग हुनुपर्छ,'  किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भने । उनका अनुसार केबलकार निर्माण अनुमति, आन्दोलनका क्रममा गोली चलाउने आदेश तथा मानव अधिकार उल्लङ्घन जस्ता विषयहरू प्रदेशभन्दा माथिल्लो तहमा निर्णय हुनुपर्ने मुद्दाहरू हुन्। 'हाम्रो आन्दोलन रोकिँदैन, वार्ता केन्द्रले गर्नुपर्छ,'  येक्तेनले भने। प्रदेश सरकारले यसअघि पनि पहिचान पक्षधरसँग वार्ताको प्रयास गरेको थियो। तर, प्रदेशको नाम 'कोशी' राखिएपछि उत्पन्न विवादलाई लिएर पहिचान पक्षधर आन्दोलित छन्। प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाको संयोजकत्वमा वार्ता टोली गठन गरी पहिचान पक्षधरलाई छलफलका लागि आह्वान गरेको थियो। तर, आन्दोलनकारीहरूले प्रदेश सरकारको प्रयासलाई अस्वीकार गर्दै वार्ताका लागि सङ्घीय सरकारसँग मात्र सहकार्य गर्ने बताएका छन्।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार