काठमाडौं : नेपाल प्रहरीको इन्स्पेक्टरमा अब २७ वर्षसम्मका युवाले दर्खास्त दिनसक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाले आवेदन दिनसक्ने व्यवस्था गरिएको हो ।
यसअघि प्रहरी निरीक्षकका लागि २५ वर्षसम्मकाले आवेदन दिन पाउने व्यवस्था थियो ।
नेपाल प्रहरीका एक अधिकृतका अनुसार पहिले स्नातक तहको परीक्षा दुई वा तीन वर्षमा पूरा हुने परिकल्पनाका आधारमा इन्स्पेक्टरमा आवेदन दिन २५ वर्ष उमेर तोकिएको थियो ।
तर, अहिले स्नातक तहको कार्यक्रम चार वर्ष पुगिसकेको अवस्थामा त्यसलाई समयानुकूल परिमार्जन गरिएको एक प्रहरी अधिकृतले बताए ।
प्रस्तावित विधेयकमा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना हुन १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्ने, प्रहरी जवानमा भर्ना हुन १८ वर्ष पूरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।
प्रतिक्रिया