विराटनगर । ओखलढुंगाको भँडारे खोलामा आज (बिहीबार) बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–७ भण्डारे खोला बिहान ८ः३० बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा खोटाङको कोपिलासगढी गाउँपालिका–३ का ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमानै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । गाडी सडकबाट करिब सय मिटर तल खसेको थियो ।
दुर्घटनापछि सुमो चालक सुनसरीको इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । दुर्घटनामा परेर पूर्णरूपले क्षतिग्रस्त भएको गाडी हालसम्म घटनास्थलमै छ ।
चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । घटनास्थल जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाबाट करिब ३६ किलोमिटर दक्षिणमा पर्छ ।
प्रतिक्रिया