इलाम : तीन दिनसम्म लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गइरहेको भन्दै यातायात व्यवसायीले बन्द खुलाउन माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ इलामले सवारी चल्न नपाउँदा गाडी खरिदको किस्ता तिर्न नसक्ने भन्दै तत्काल यातायात सञ्चालन गर्न माग गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ जिल्ला समन्वय समिति इलामले बिहीबार विज्ञप्ति जारी गर्दै बैङ्कबाट लिइएको चर्को मुल्को ब्याज तिर्न समस्या भएको बताएका छन् । सवारी नचल्दा मासिक किस्ता बैङ्कबाट लोन लिएर सवारी खरिद गरेका व्यवसायीले यातायात व्यवसायी, मजदुर र मजदुरका परिवारलाई जीवनयापनमा समस्या पर्ने उल्लेख गरिएको छ ।
इलाम सहित झापा, पाँचथर र ताप्लेजुङका व्यवसायीले संयुक्त रूपमा विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । व्यवसायी र मजदुरको परिवारमा जटिल अवस्थालाई मध्यनजर गर्दै बन्द खुलाउनु पर्ने विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
ताप्लेजुङको पाथीभरा मन्दिरमा पुग्ने केबलकार निर्माणका विषयलाई लिएर असन्तुष्ट पक्षधरले माग १५ गतेबाट बन्दको आह्वान गरेका छन् । सरकार र बन्द कर्ता गम्भीर भएर वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ । ‘राज्य र बन्दकर्ताहरूमा विनम्र अनुरोध गर्दै अविलम्ब यातायात सुचारु गर्ने वातावरण तयार गर्न अनुरोध गर्दछौँ ।’
विज्ञप्तिमा व्यवसायीका झापा संयोजक खड्ग श्रेष्ठ, इलाम संयोजक गृष्म सुब्बा, पाँचथर संयोजक मिलन गिरी र ताप्लेजुङ संयोजक दिलीप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बन्दका कारण सडकमा सवारी गुडेका छैनन् जसका कारण स्थानीय सर्वसाधारणलाई समस्या भइरहेको छ । मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ जाने नाका बन्द गरिएको उल्लेख छ । तर पनि अन्य भित्री सडकमा समेत सवारी गुडेका छैनन् ।
प्रतिक्रिया