इलाम : ताप्लेजुङको पाथीभरा मन्दिरमा निर्माण हुन लागेको केबलकार निर्माणको विषयलाई लिएर असन्तुष्ट पक्षले माघ १५ गतेबाट यातायात बन्दको आह्वान गरेका छन् । बन्दका कारण चार पाङ्ग्रे सवारी सञ्चालन हुन सकेका छैनन् ।
तीन दिनसम्म यातायात मजदुरहरूले बन्दकर्तालाई साथ दिएको भन्दै अब सवारी सञ्चालन गर्ने बताएका छन् । उनीहरूले शुक्रवारबाट सडकमा सवारी सञ्चालन गर्ने बताएका हुन् ।
तीन दिनसम्म आइपुग्दा बन्द खुलाउन कुनै पनि पक्षबाट पहल नभएको भन्दै यातायात मजदुरहरूले गुनासो गरेका छन् । उनीहरूले इलाम सदरमुकामका पत्रकार सम्मेलन गर्दै बन्दको विकल्प खोज्न समेत आह्वान गरेका छन् ।
'किन सधैँ विरोधका नाममा यातायातलाई मात्र प्रहार गरिन्छ ?' यातायात मजदुर सङ्घ इलामका अध्यक्ष छिरिङ शेर्पाले प्रश्न गरे ।
चार पाङ्ग्रे सार्वजनिक सवारी साधन नचल्दा मोटरसाइकल र तीन पाङ्ग्रे अटोले महँगो भाडा लिएर यातायात सञ्चालन गरिरहेको उनीहरूको भनाई छ ।
सर्वसाधारणलाई नै बन्दले कठिन भएको भन्दै आफूहरूले कोठा भाडा तिर्न र घर खर्च गर्न समस्या उत्पन्न भएको मजदुरहरूको भनाई छ ।
यातायात सञ्चालन गर्न इलाममा प्रशासनको कुनै सहयोग नभएको उनीहरूले बताए ।
चालक रुपेन थापाले हालसम्म आफूहरूलाई प्रशासनबाट समेत सहयोग प्राप्त नभएको गुनासो गरे । बन्दकर्ताहरुले आन्दोलनको मोडेल परिवर्तन गरेर समस्याको समाधानमा जान समेत आग्रह गरेका छन् ।
उनीहरूले विज्ञप्ति जारी गर्दै प्रशासनलाई समेत सहयोग गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ यदि हाम्रो अनुरोधलाई वास्ता नगरी आन्दोलनलाई जारी राखेमा हामी मजदुरहरू पनि आफ्नो रोजीरोटीको लागि यातायात सञ्चालन गर्न बाध्य हुने छौँ ।
उनीहरूले मजदुरको रोजीरोटी नै हराएको भन्दै मजदुरलाई समेत जिउन सक्ने वातावरण सिर्जना हुने गरी विरोध गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया