स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : आयोजकलाई पराजित गर्दै केराबारी अन्तिम चारमा

शुक्रबार, १८ माघ २०८१
इटहरी : स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा केराबारी फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ । आयोजक द योङ ब्रदर्श क्लब इटहरीलाई ४–३ गोल अन्तरले पराजित गर्दै केराबारी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको ३ मिनेटमै आयोजकका लागि फासाले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै खेलको ७ औँ मिनेटमा केराबारीका भुवन बस्नेतले जवाफी गोल फर्काए । खेलको १० मिनेटमै पुनः आयोजकका तर्फबाट फासाले नै गोल थपे । पहिलो हाफको इञ्जुरी समयमा केराबारीका लागि नितेश लिम्बूले थप १ गोल गरे । पहिलो हाफमा २–२ बराबरीमा टुंगिएपनि हाफपछि भने केराबारीले २ गोल थप्यो । खेलको ५० औँ मिनेटमा केराबारीका लागि नितेश लिम्बूले पुनः १ गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरी खेलको ५५ औँ मिनेटमा केराबारीकै लागि विशाल तामाङले थप १ गोल गरे । यसैगरी आयोजकका लागि खेलको ५७ औँ मिनेटमा उमेश राईले थप १ गोल गरे । खेलको म्यान अफ दि म्याच केराबारीका नितेश लिम्बू घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । कोशी प्रदेशस्तरीय प्रतियोगिता बिहीबार इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा उद्घाटन भएको हो । उद्घाटन खेलमा दमक एकेडेमीले न्यू स्टार क्लब बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ । शनिबार लोहोरुङ फुटबल क्लब संखुवासभा र चारतारे युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार