सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति गरेको छ ।
पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत पुस २३ गतेदेखि माघ १९ गतेसम्म विभिन्न स्थानमा आगलागी तथा हावाहुरीका घटनाहरू भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
हावाहुरीका कारण सातवटा घरको छानो उडाएको छ भने एउटा गुम्बा, तीनवटा गोठ, एउटा सरकारी कार्यालय, चार स्थानको सोलार प्यानल र एउटा विद्यालयको छानो उडाएर क्षति भएको छ ।
त्यसैगरी आगलागीका कारण चारवटा घर, एउटा गोठ जलेर नष्ट भएका छन् भने चारवटा सामुदायिक वन र तीनवटा निजी वनमा डढेलो फैलिएको छ ।
प्रहरीको तथ्याङ्कअनुसार हावाहुरीका घटना खुम्बु पासाङल्हामु गाउँपालिकामा १४ र सोलुदूधकुण्ड नगरपालिकामा तीनवटा भएका छन् । त्यस्तै आगलागीका घटना सोलुदूधकुण्डमा पाँच, सोताङमा तीनवटा, महाकुलुङमा एउटा, माप्यदूधकोसीमा दुई र नेचासल्यानमा एउटा दर्ता भएका छन् ।
सबैभन्दा गम्भीर घटना सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा पुस २४ गते राति भएको थियो । उक्त आगलागीमा परी टाक्सिन्दु निवासी नवराज खालिङ राईको ज्यान गएको प्रहरीले जनाएको छ । सोलुखुम्बुमा पछिल्लो केही दिनयता हावाहुरीले ठूलो क्षति गराइरहेको छ ।
माघमा चलेको बेमौसमी हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा संरचनाहरुमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
“माघ लागेपछि चलेको तीव्र गतिको हावाले जिल्लामा सरकारी संरचनासहित निजी संरचनाहरूमा पनि क्षति पुर्याइरहेको छ । सबैभन्दा बढी क्षति खुम्बुमा गरेको छ, हावाका कारण आगलागी तथा डढेलोको घटनामा पनि त्यतिकै बढेको छ”, उनले भने ।
हावाहुरीको सबैभन्दा बढी चपेटामा सगरमाथा क्षेत्र परेको छ । जहाँ पछिल्लो पाँच दिनमा १४ वटा संरचनामा क्षति पुर्याएको स्थानीय प्रहरीले जनाएको छ ।
यसैबीच प्राकृतिक विपद्बाट प्रभावित स्थानीयवासीका लागि तत्काल राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकार भएका निकायहरूले बताएका छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया