विराटनगर । विराटनगरबाट मानव कंकालसहित एक जना युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद राय पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीले उनलाई आइतबार बिहान ७ः४० बजेतिर पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट मानव कंकाल लिएर आउँदै गर्दा रायलाई फेला पारेको थियो ।
गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतले रिक्सामा चढेर भारतबाट आउँदै गरेका रायको साथबाट मानव कंकाल फेला परेकोे जानकारी दिए । उनी चढेको रिक्सालाई सशस्त्रले विराटनगर–१५ स्थित २ नम्बर ढाटमा रोकेर चेकजाँच गरेको थियो । रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको डीएसपी राउतले बताए ।
उनीसँगै रहेकी १ जना महिला रिक्साबाट ओर्लिएर फरार भएकी छन् । ती महिलाको खोजी तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले रायलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ । रायले मानव कंकाल कहाँबाट र किन ल्याएको हो भनेर केही पनि बताउन चाहेका छैनन् ।
अनुसन्धानबाट थप कुरा खुल्दै जाने प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार राय यसअघि पनि मानव कंकालसहित विराटनरबाटै पक्राउ परेका थिए । सशस्त्रले यसअघि २०७८ असोज र चैतमा पनि मानव कंकाल बरामद गरेको थियो ।
प्रतिक्रिया