विराटनगर । मोरङको धनपालथानमा रहेको उमागौरी सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई थुनामा पठाउन जिल्ला अदालत मोरङले आदेश दिएको छ ।
न्यायाधीश अरुणकुमार झाको इजलासले धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आइतबार आदेश दिएको हो । आदेशलगत्तै उनलाई थुनामा राख्नका लागि कारागार चलान गरिएको छ ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी रौनियारलाई कारागार चलानको आदेश भएको जानकारी दिए । उनका अनुसार माघ १४ गते अदालत हाजिर भएका रौनियारविरुद्धको मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच आइतबार नै थुनछेक बहस भएको थियो ।
अदालतमा उनको बयान लिन नै ३ दिन समय लागेको थियो । बीचमा शनिबारसहित ३ दिन सार्वजनिक बिदा पर्यो । रौनियारको बयान गत शुक्रबार र थुनछेक बहस आइतबार सकिएको हो । अदालत हाजिर भएयता उनी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए ।
बचतकर्ताले जम्मा गरेको रकम अपचलनमा मुछिएपछि सहकारीको कार्यालय नै बन्द गरेर उनी फरार भएका थिए । रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम अपचलन मुद्दा मंसिर २७ गते अदालतमा दर्ता भएको थियो ।
मुद्दामा सहकारीका अध्यक्ष रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत प्रतिवादी छन् ।
रौनियारकै अगुवाइमा सर्वसाधारणले सहकारीमा बचत गरेको रकम हिनामिना गरिएपछि बचतकर्ताको बिल्लीबाठ भएको छ । हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो ।
मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । आदेशलगत्तै उनलाई कारागार चलान गरियो ।
गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन् । वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर यसअघि नै छुटिसकेका छन् ।
प्रतिक्रिया