धरानमा बन्दको उपयोग, चालकहरूलाई प्रशिक्षण

आइतबार, २० माघ २०८१
धरान : धरानका यातायात मजदुरहरूलाई आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । सडक दुर्घटनामा ज्यान गुमाउने र कारागार जाने चालकहरूको संख्या बढिरहेकाले आइतबार बन्दको समयमा सवारी चालकहरूलाई सडक सुरक्षा सचेतना गराइएको हो । विषय प्रस्तुत गर्दै मजदुर नेता भीमज्वाला राईले नेपालको सार्वजनिक यातायात विकल्पहीन साधन भएपनि असुरक्षित रहेको तथ्य प्रस्तुत गरे । प्रत्येक दिन न्यूनतम सात जनाको सडक दुर्घटनामा ज्यान गइरहेको र न्यूनतम ४० जना नागरिक घाइते भइरहेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष रहेका राईले सडक दुर्घटना हुनुमा भौतिक कारण, मानवीय कारण, यान्त्रिक कारण र पर्यावरणीय कारण रहेको उल्लेख गर्दै चालकहरू धैर्य र संयमित बन्न सके मानवीय त्रुटिले हुने दुर्घटनालाई न्यूनीकरण गर्न सकिने बताए । उनले भने, ‘भौतिक रूपमा सवारी साधनको आवश्यकता, यात्रुको चाप, प्रकृतिका आधारमा आयात, ट्राफिक व्यवस्थापनलाई आधुनिकीरण र सडक निर्माणको सन्तुलनलाई सन्तुलित बनाउनुपर्ने, मानवीय कारणहरूमा चालकहरूले मादक पदार्थ र लागूपदार्थ सेवनलाई पूर्ण अन्त्य, चालकहरूको उमेर, अस्वस्थ प्रतिस्पर्धा र तीव्र गतिलाई नियन्त्रण गर्नुपर्छ ।’ कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले मादक पदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाएको प्रमाणित भएमा त्यस्ता सवारी साधनलाई छुट पुर्जी रोक्का गरिने बताए । इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डीएसपी प्रकाश जबेगुले सडक दुर्घटना हुँदा चालकहरू र सवारी धनीलाई प्रभावित हुने सवारी तथा यातायात व्यवस्था ऐनका दफाहरूबारे प्रशिक्षित गरे । उनले सवारी ऐनको दफा १६१ र १६२ का चालकहरूलाई हुने कानुनी सजायबारे प्रस्तुत गरे। सडकमा हिँड्दा चालकहरूले अपनाउनुपर्ने ट्राफिक नियमहरूबारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक वीरेन्द्र थापाले अनुशिक्षण गरे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँले सञ्चालन गरेको प्रशिक्षणमा धरानका एक सय पाँच जना यातायात मजदुरहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार