विराटनगर : विराटनगरको स्कुल अफ इञ्जिनियरिङ कलेजमा विद्यार्थीहरूले तोडफोड गरेका छन् । सोही कलेजमा अध्ययनरत विद्यार्थीहरूले आइतबार (आज) दिउँसो ४ बजेतिर तोडफोड गरेका हुन् ।
दुई समूहबीच भएको विवादलाई क्याम्पस प्रशासनले साम्य पार्ने प्रयास गरिरहँदा अचानक कलेजमा तोडफोड भएको हो ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ मा रहेको उक्त कलेजमा सरस्वती पूजाको विषयलाई लिएर विद्यार्थीको दुई समूहबीच विवाद भएको थियो ।
विद्यार्थीबीच विवाद बढेपछि क्याम्पस प्रमुख तेजराज गिरीले आफ्नै कार्यकक्षमा लगेर सम्झाइबुझाइ गर्न खोजेका थिए । क्याम्पस प्रमुख गिरीले सम्झाउँदै गर्दा उत्तेजित विद्यार्थीहरू तोडफोडमा उत्रिएका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार तोडफोडबाट गिरीको कार्यकक्षमा रहेका फर्निचर, कम्प्युटरलगायतका सामानमा क्षति पुगेको छ ।
तोडफोडपछि करिब १५्–२० जना विद्यार्थीको समूह फरार भएको जोशीले बताए ।
उनका अनुसार फरार रहेकाको खोजी भइरहेको छ । तोडफोडबाट तीन लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाबारे थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया