विराटनगरको नोबेल अस्पताल परिसरबाट फार्मेसी सञ्चालक र कर्मचारीहरू पक्राउ

आइतबार, २० माघ २०८१
विराटनगर : विराटनगरको नोबेल अस्पताल परिसरबाट १० जना फार्मेसी सञ्चालक र कर्मचारीहरू पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–४ स्थित अस्पताल परिसरबाट आइतबार दिउँसो ४ बजेतिर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरू अस्पतालको बाहिर सञ्चालनमा रहेका फार्मेसी (औषधि पसल)का सञ्चालक र कर्मचारी हुन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१८ का २७ वर्षीय राजुकुमार कामत, विराटनगर–७ का २४ वर्षीय नितेश राजवंशी, विराटनगर–६ का २३ वर्षीय सुरज राजवंशी, विराटनगर–५ का २७ वर्षीय अमर साह तथा सुनसरीको बर्जु गाउँपालिका–७ का २९ वर्षीय दीपेन्द्र गुप्ता, बर्जु–६ का २५ वर्षीय वीरेन रौनियार, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय श्यामनारायण मण्डल, भारदहका २१ वर्षीय कमल पाठक, २१ वर्षीय दीपक मण्डल र सिरहाको विष्णुपुर गाउँपालिका–२ का २५ वर्षीय नगेन्द्रप्रसाद यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । अस्पताल बाहिर फार्मेसी चलाएर अस्पताल आउने बिरामी र उनीहरूका आफन्तलाई ठगी गर्ने गरेको गुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘अस्पतालमा आएका बिरामीलाई ललाइफकाइ आफ्नो फार्मेसीमा लैजाने र औषधि बेच्दा धेरै रकम लिने गरेको गुनासो आयो,’ प्रहरी स्रोतले भन्यो, ‘उपचारमा सहयोग गर्ने नाममा दलालीको काम गर्ने गरेको सूचना आएपछि पक्राउ गरिएको हो ।’ प्रहरीका अनुसार बिचौलियाको काम गरेर सेवाग्राहीलाई हैरान बनाएको गुनासो अस्पतालबाट आएको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार