झापा र मोरङमा दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमबार, २१ माघ २०८१
विराटनगर : झापामा आज (सोमबार) बिहान र मोरङमा हिजो (आइतबार) दिउँसो दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर डाईभर्सनमा ठोक्किँदा चालकको मृत्यु भएको छ । सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर चालकका झापाको झापा गाउँपालिका–६ शरणामतीका अन्दाजी ५० वर्षीय हरिप्रसाद उप्रेतीको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार आज बिहान ४ः३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले बिहान ५ः१० बजेतिर मृत घोषित गरेका थिए । मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसैबीच, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा पनि दुर्घटना भएको छ । त्यहाँ मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको को २८ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङको मिक्लाजुङ गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय फौदसिंह विकको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले विकलाई आइतबार दिउँसो २ः३० बजेतिरठक्कर दिएको थियो । प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा दिउँसो ४ बजेतिर मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का १९ वर्षीय अजाद हुसेनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार