‘नो केबलकार’ बन्द प्रभाव : कोशीका सांसद नै आउन पाएनन् सदन

सोमबार, २१ माघ २०८१
 विराटनगर । ‘नो केबलकार’ बन्दका कारण कोशी प्रदेशसभाका सांसदहरू समेत सदन आउनै रोकिएका छन् । सोमबारको प्रदेश सभाको बैठकमा आफू बन्दका कारण आउन नपाएको प्रदेश सभाकी सांसद विद्या चाम्लिङ राईले बताइन् । ‘स्वास्थ्यमा केही समस्या पनि भएर हो । बन्दले बाहिर अफ्ठेरो अवस्था पनि थियो । उनले भनिन्, ‘कतिपय माननीयहरू बन्दमा केही होला कि भनेरै पनि नजाने भन्नुभएको थियो ।’ कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले बन्दको प्रभाव सदनमा पनि देखिएको बताए । ‘काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङदेखि कतिपय माननीयले बन्दका कारण नै सदन आउन नसक्ने बताउनुभएको थियो,’ विष्टले भने, ‘उपस्थिति हुन नसक्नुभएका माननीयले जानकारी गराउनुभएको छ । त्यसमा बन्दका कारण पनि कतिपय माननीय हुनुहुन्छ ।’ प्रदेश सभा सचिवालयका अनुसार प्रदेशसभाका ९३ जना सदस्यमा सोमबारको बैठकमा ४२ जना सदस्य उपस्थित भएका छन् । सोमबारको प्रदेश सभा बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेस भएर सैद्धान्तिक छलफल सुरु भएको छ । वार्ताबाट समाधान निकाल्न माग पाथीभरा केबलकार विवादका सन्दर्भमा सबैभन्दा पहिले पाथीभरा क्षेत्रमा रहेको फौज फिर्ताका साथ काम रोकेर वार्ता गर्न माओवादी सांसद गणेश उप्रेतीले सरकारलाई सुझाव दिए । बैठकमा विशेष समय लिएर बोलेका सांसद उप्रेतीले भने,‘सरकार वार्ता गर्ने समयमा गोली हान्न अगाडि स¥यो । विकास पनि शान्तिपूर्ण ढङ्गबाट मात्रै गर्नु पर्दछ । उनले भने, सरकारले काम रोकेर र सुरक्षा फिर्ता बोलाएर वार्ताको टेबलमा बस्नु पर्दछ ।’ यस्तै ताप्लेजुङकी सांसद निर्मला लिम्बुले केबलकार निर्माणले गर्नु मानव सभ्यतामाथिकै आक्रमण हुने भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, विकासको नामले सिङ्गो मानव समुदाय र सिङ्गो लिम्बु समुदायको अस्तित्वको विनाश गर्दछ ।’ लिम्बुले आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तुरुन्त रिहाइ गर्न माग समेत गरेकी छन् । खास गरी पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत सङ्घसंस्था यति बेला आन्दोलनमा छन् । उनीहरूले आइतबार र सोमबार (हिजो र आज) कोशीका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा बन्दको घोषणा गरेका छन् । जसको प्रभाव कोशी प्रदेशसभा सम्मै देखिएको हो । आन्दोलनमा होमिएका विक्रम लिम्बुले यो बन्द साङ्केतिक बन्द मात्रै भएको बताए । केबलकार निर्माण कार्य नरोकिए जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार