स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ फुटबल क्लब संखुवासभा फाइनलमा

सोमबार, २१ माघ २०८१
इटहरी : लोहोरुङ फुटबल क्लब संखुवासभा इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा दमक एकेडेमी झापालाई सडन डेथमा पराजित गर्दै लोहोरुङ फुटबल क्लब संखुवासभा फाइनलमा प्रवेश गरेको हो । सडन डेथमा लोहोरुङका लागि मिलन लिम्बू र विदेशी खेलाडी अरमन्द बिएडोमले १–१ गोल गरे । दमकका लागि रोशन तामाङले १ गोल गर्दा रोशन धिमालको प्रहार पोस्टबाहिर गयो । निर्धारित समयमा १–१ गोल बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको १६ मिनेटमा दमकका लागि गौरव धिमालको कर्नरमा किस्मत लिम्बूले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि दबाबमा परेको लोहोरुङका लागि खेलको ६७ औँ मिनेटमा दोर्जे तामाङले जवाफी गोल गरे । बराबरीमा गएपछि रोमाञ्चक बनेको खेलमा दुवै टिमबाट पटकपटक अवसर प्राप्त भएपनि गोल गर्न सकेनन् । खेल बराबरीमा गएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा लोहोरुङका लागि दोर्जे तामाङ, हेमन लिम्बू, धीरेन क्षेत्री, चरी लिम्बू र विदेशी खेलाडी बेफोरले गोल गरेका थिए । दमकका लागि आशिष लावती, अनुप सिवा, गौरव धिमाल, रोशन थाम्सुहाङ र किस्मत लिम्बूले गोल गरे । खेलको म्यान अफ दि म्याच लोहोरुङका जीवन लोहोरुङ घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार मंगलबारको अन्तिम सेमिफाइनल खेल केराबारी फुटबल क्लब मोरङ र सिंहदेवी फुटबल क्लब धनकुटाबीच हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्ने सुब्बाले जनाए । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार