इटहरीमा फेरि रात्रिकालीन बजारको चर्चा, के छ उपमहानगरको तयारी ?

मंगलबार, २२ माघ २०८१
इटहरी : इटहरीमा फेरि रात्रिकालीन बजार लगाउने चर्चा हुन थालेको छ । यसअघि तत्कालीन मेयर द्धारिकलाल चौधरीको नेतृत्वमा सुरू भएको रात्रिकालीन बजार अलपत्र परेको थियो । तर, फेरि पनि उपमहानगरले रात्रिकालीन बजार लगाउनेगरी तयारी थालेको जनाएको छ । २०८२ दसैँदेखि इटहरी ६ सङ्गीत चौकमा रात्रिकालीन बजार लगाउने तयारी थालिएको उपमहानगरले जनाएको छ । रात्रिकालीन बजारको लागि सङ्गीत चौकलाई सजाउन उपमहानगरले ठेक्का लगाउने भएको छ । ठेक्का प्रक्रियाको लागि उपमहानगरले बोलपत्र आह्वानमार्फत ठेक्का लगाइसकेको छ । सङ्गीत चौकको सौन्दर्यकरण गरेर यहाँ बत्ती राख्नको लागि दुई करोड ६० लाख ८९ हजार ८८ रुपैयाँ ३२ पैसामा सप्तरीको हनुमान नगरको आसुतोस पुष्पा जेभी छनोट भइसकेको छ । मेयर हेमकर्ण पौडेलले यसअघि सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘इटहरी अब युवा सहर भइसक्यो । पक्का सहर भइसक्यो , अब यो सहरबासीहरूको माग र आवश्यकता दिनमा लाग्ने बजारले मात्र धान्दैन,’ मेयर पौडेलले भने । रात्रिकालीन बजारमा हुने क्रियाकलापको निगरानी गर्न र सुरक्षाको हिसाबले पनि इटहरीमा तीन सय भन्दा बढी सिसिटिभी जडान भइसकेको उनको दाबी छ । ‘इटहरी अब सिसिटिभीको निगरानीमा छ । अझै धेरै ठाउँमा सिसिटिभी जोड्ने हाम्रो योजना छ,’ उनले भने । रात्रिकालीन बजार सञ्चालनको लागि ‘रात्रि बजार सञ्चालन सम्बन्धी ऐन, २०७९’ नै जारी गरेर काम भइरहेको उनले बताए । यस ऐनको आधारमा नै बजार सञ्चालन व्यवस्थापन गरिने मेयर पौडेलले बताए । सङ्गीत चोकमा रात्रिकालीन बजार सञ्चालन गर्न मुख्य रूपमा ड्रेन, फुटपाथ र सडक बत्ती सजावटको काम रहेको उनले बताए । ‘रात्रिकालीन बजार लाग्ने ठाउँमा निश्चित समय सवारीसाधन निषेध गरिन्छ, फलैँचा हुन्छ । २४ सै घण्टा खुल्ने मेडिकल हुन्छ, सिसी क्यामराकाको निगरानी हुन्छ । प्रहरी बिट स्थापना हुन्छ । शान्त र सुरक्षित स्टेजसमेत भएको ठाउँ हुन्छ,’ मेयर पौडेलले भने । रात्रिकालीन बजार सङ्गीत चोकसँगै पारुहाङ्ग चोकसम्म लाग्ने बताइएको छ । रात्रिकालीन बजार सञ्चालनको लाथि वडा नं. ६ का वडाध्यक्ष तथा इटहरी उपमहानगरका प्रवक्ता दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम सुरू गरिएको छ । त्यस क्षेत्रमा निःशुल्क इन्टरनेट, सार्वजनिक शौचालय लगायतको सुविधा हुने पोखरेलले बताए । ‘सङ्गीत चौक खुल्ला भएकाले बजारका निम्ति आवश्यक पूर्वाधार निमार्णको काम थालिएको छ,’ पोख्रेलले भने । रात्रिकालीन बजार लगाउन अहिले सङ्गीत चोकमा ड्रेन सरसफाइको काम भइरहेको उनको भनाइ छ । आइतबारेमा भन्दा सङ्गीत चौक रात्रिकालीन बजारको लागि उपयुक्त भएकाले यहाँ बजार लगाउन लागिएको पोखरेलको भनाइ छ । अघिल्लो सरकारले आइतबारेमा रात्रिकालीन बजार लगाउने निर्णय गरे पनि कोभिड १९ लगायतको कारण देखाउँदै उक्त योजना स्थगित गरेको थियो । करिब २२ लाख रुपैयाँ खर्च भइसकेपछि अघिल्लो सरकारले उक्त योजना स्थगित गरेको थियो । इटहरीमा रात्रिकालीन बजार सञ्चालन भएमा अर्थतन्त्रलाई थप चलायमान हुने र आन्तरिक पर्यटनको समेत प्रवद्र्धन हुने उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । रात्रिकालीन बजार व्यवस्थित तरिकाले लगाउन सकेमा उपभोग्य सामान, होटेल तथा चमेना गृह मनोरञ्जनका व्यवसायलगायत अन्य ठूला तथा साना व्यावसायहरू सञ्चालन गर्न सकिने अध्यक्ष पराजुलीले बताए । साँझमै बजार बन्द हुँदा बाहिरबाट आएका आगन्तुक तथा पर्यटकले सामग्री खरिद गर्नमा समस्या रहेको पराजुलीले बताए । रात्रिकालीन बजारले आगन्तुक तथा पर्यटकहरूलाईसमेत सहज हुने उनको विश्वास छ । उनका अनुसार दिनभर आफ्नो निजी काममा व्यस्त रहनुपर्ने भएकाले प्रायः इटहरीवासी किनमेलका लागि बिहानको समय वा बिदाकै दिन कुर्नुपर्ने बाध्यतामा छन् । इटहरी चोक आसपासका बजार साँझ नहुँदै बन्द हुने गरेको गुनासो बढेका आधारमा इटहरी उपमहानगरपालिकाले रात्रिकालीन बजार सुरु गर्न लागेको हो ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार