एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

मंगलबार, २२ माघ २०८१
धरान : धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको मंगलबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीका लागि शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए । खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुुरस्कार प्राप्त गरे । खेलको ४८ औं मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गरे । खेलको ६० औं मिनेटमा एनआरटीका क्याप्टेन सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाए । लेखीले प्रहार गरेको बल केएफटिसीका गोलकिपर अभिषेक बरालले रोकेका थिए । रिबाउण्ड भएको बललाई सुमित श्रेष्ठले मिलाइदिएको पासमा घिसिङले गोल गरेका थिए । लगत्तै केएफटिसीले गोल अन्तर घटाएको थियो । खेलको ६२ औं मिनेटमा खामिर लिम्बूले मिलाइदिएको पासलाई रोबर्ट खोन्जाउले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । अतिरिक्त खेलाडीको रूपमा मैदान छिरेका रोहन खड्गीले गोल गर्दै एनआरटीको जित निश्चित गरेका थिए । खेलको ७९ औं मिनेटमा सुमित श्रेष्ठले मिलाइदिएको ब्याकक्रसलाई सुन्दर ढंगले खड्गीले गोल गरेका थिए । पहिलो हाफमा अग्रता बनाउन केएफटिसी चुकेको थियो । खेलको १६ औं मिनेटमा रोबर्ट खोन्जाउले वान भर्सेज वानको स्थितिमा गोल गर्न चुके । खेलको ४९ औं मिनेटमा केएफटिसीका मौसम लिम्बूले डिबक्स भित्रबाट गोल गर्न सकेनन् । उनले प्रहार गरेको शसक्त बल एनआरटीका गोलकिपरले मुस्किलले रोकेका थिए । पेनाल्टी पोइन्ट नजिकै अनमार्क रहेका केएफटिसीका आशिष चापागाईले गोल गर्न सकेनन् । उनले प्रहार गरेको बल आकाशिएको थियो । २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेल बुधबार भुटानको रोयल थिम्पु कलेज र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार