धरानमा १५ दिने विजनेश एक्स्पो हुँदै

शुक्रबार, २५ माघ २०८१
धरान । धरानमा १५ दिने बिजनेश एक्स्पो हुने भएको छ । शनिवार धरान रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने छ । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उद्देश्य सहित विजनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरानका अध्यक्ष शिवराज श्रेष्ठले बताए । शनिवार बिहान ११ बजेबाट प्रारम्भ हुने एक्स्पोमा आम सर्वसाधारणलाई समेत निशूल्क प्रवेश गराइने विजनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले बताए । अग्रवालले साँझ सांस्कृतिक कार्यक्रममा भने कलाकारको उपस्थिति अनुसार न्यूनतम शुल्क ताकिएको भए पनि अन्य समयमा कुनै पनि प्रकारको शुल्क नलिने बताए । मुख्य कुरा धरानको सुस्त बजारलाई चलायमान बनाउनु हो धरानको व्यापारी तथा व्यवसायीहरूलाई खुसी बनाउनु हो अर्थोपार्जन होइन संयोजक अग्रवालले भने । आम सर्वसाधारण र व्यवसायीहरूको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाति परिकारहरूको प्रवर्धन स्थानीय उद्योगी व्यवसायीहरूका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनहरूलाई सरल मूल्यमा उपलब्धता तथा प्रतिभाहरूलाई मञ्च प्रदान गर्न यो एक्स्पोले योगदान गर्ने सहमुल समितिका संयोजक टङ्ककुमारी गुरुङले बताइन् । १५ दिने एक्सपोमा राजेश पायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरू र स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । लोकबाजाहरूको अर्केष्ट्रा, ब्रिटिस गोर्खा ब्रिगेड ब्यान्डको प्रस्तुति र स्थानीय डान्स सेन्टरहरूको प्रस्तुति रहनेछ । आगन्तुकहरूको मनोरञ्जनका लागि खेल तमासा, रोटे पिङ, नाउँ तथा बालबालिकाहरूका लागि समेत मनोरञ्जनात्मक सामग्रीहरू राखिएको संयोजक टङ्ककुमारी गुरुङले बताइन् । एक्स्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तरक्रियात्मक डिबेट गरिने समेत गरिने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार