इलामको पाथीभरा मन्दिरमा दुई वर्षमा ३ करोड ३६ लाख आम्दानी

आइतबार, २७ माघ २०८१
इलाम : इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरले २ वर्षको अवधिमा ३ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । गाउँपालिकाले २०७९ साल फागुन १ गतेबाट पाथीभराको सम्पूर्ण व्यवस्थापनको स्वामित्व लिएपछि हालसम्मको अवधिमा अवधिमा सो रकम सङ्कलन भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो (सुवास) ले जानकारी दिए । सङ्कलित रकम पाथीभरा मन्दिरको व्यवस्थापनमा खर्च हुने गरेको र अघिल्लो आर्थिक वर्ष सम्मको पूर्वाधार निर्माण सम्पन्न भएको छ। यो आर्थिक वर्षको काम सुरुवात हुने र केही व्यवस्थापकीय सुधार आवश्यक भएको बताए । पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ जारी गरेर गाउँपालिकाले दिलीप राईको नेतृत्वमा समिति बनाएको थियो । आईतवार मन्दिर परिसरमै भएको भेलाले पुनः दिलीप राई बाङ्देलको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवास, उपाध्यक्ष विष्णुमाया खवास, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानलगायतको उपस्थितिमा सम्पन्न भेलाले पुरानै समितिका पदाधिकारी र धेरैजसो सदस्यलाई पुनः चयन गरेको छ । समितिको सचिवमा एगा अर्याल तथा कोषाध्यक्षमा कृष्ण भुजेल पुनः चुनिएका छन् । पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ को नियम ४ बमोजिम पुन सोही समितिको आकार घटाएर थप एक कार्यकालको लागि नियुक्त गरिएको स्याङबोले जानकारी दिए । पाथीभरा पूर्वको एक महत्त्वपूर्ण धार्मिक स्थल भएकाले नजिकै रहेको कन्याम ,श्रीअन्तुमा चहलपहल बढाउन योग्दान पु¥याएको उनले बताए । गाउँपालिका अध्यक्षमा मनिकुमार स्याङ्बो निर्वाचित भएपछि २०७९ सालमा मन्दिरको व्यवस्थापन समिति परिवर्तन गरेर गाउँपालिकाको स्वामित्वमा ल्याएर दिलीप राईलाई अध्यक्षको रूपमा जिम्मेवारी दिइएको थियो । छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँ सभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको थियो । राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको थियो । ऐन तयार गरेर बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाले पुरा गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार