देउमाई : ‘देउमाई कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
आगामी चैत १ गतेबाट सुरु हुने प्रतियोगिता चैत १० गते सम्पन्न हुने आयोजक समितिले जनाएको छ।
देउमाई स्पोर्टिङ क्लबको आयोजनामा हुने यस प्रतियोगितामा जिल्लाका १० पालिकाका १० टिम सहभागी हुनेछन्। इलाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
अघिल्लो संस्करणमा छिमेकी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाको टोलीसमेत सहभागी भए पनि यसपटक इलाम जिल्लाका मात्र टिमहरूले भाग लिने क्लबका अध्यक्ष मणि तामाङले जानकारी दिए।
प्रतियोगिता भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा सञ्चालन हुनेछ। विजेता टिमले नगद दुई लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ११ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रचार समिति संयोजक मौसम खनालका अनुसार हरेक खेलमा एक खेलाडीलाई ‘म्यान अफ द म्याच’ को रुपमा नगद पुरस्कार प्रदान गरिनेछ। साथै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई विशेष पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पछिल्ला वर्षहरूमा खेलकुद गतिविधि न्यून भएको देउमाई नगरपालिकामा यस प्रतियोगिताले स्थानीय खेलाडी उत्पादन तथा खेल क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यसवर्ष प्रत्येक टिममा पालिकाभित्रका खेलाडी मात्र समावेश हुन पाउने नियम लागू गरिएको आयोजक समितिले जनाएको छ।
प्रतिक्रिया