मोरङ : कोशी प्रदेशसभाको सोमबारको बैठकमा कोशी प्रदेश सञ्चार प्रतिष्ठानमा संविधानले तोके बमोजिम महिलाको प्रतिनिधित्व हुनुपर्नेमा सदस्यहरूले जोड दिएका छन् ।
‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा सदस्यहरूले यस्तो जोड दिएका हुन् । सदस्यहरूले समितिमा दफावार छलफलका लागि समितिमा लग्न सभामुखलाई सुझाव दिएका छन् ।
छलफलमा भक्तिप्रसाद सिटौला, खिनु लङ्बा लिम्बू, जयप्रकाश चौधरी, रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल, खड्गबहादुर बस्नेत, हिमाल कार्की, शोभा चेम्जोङ, गोपाल तामाङ, भीम पराजुलीले भाग लिए ।
उनीहरूले विधेयकले सञ्चारकर्मीलाई नागरिकप्रति जिम्मेवार बनाउनुका साथै स्वतन्त्र पत्रकारिताको विकास गर्ने पनि बताए ।
“पछाडि परेका वर्ग एवं समूहलाई पत्रकारिता अध्ययनमा छात्रवृत्ति प्रदान गर्ने राम्रो कार्य विधेयकमा छ । विधेयकले आमसञ्चार माध्यमको दर्ता, नवीकरण, पत्रकारका सेवा सुविधा उपलब्ध गराउनेजस्ता राम्रो पक्ष समेट्नु राम्रो पक्ष हो । अब सरोकार भएका व्यक्ति र पत्रकारसँग छलफल गरी सुझाव समावेश गरेमा थप राम्रो हुनेछ”, उनीहरूको भनाइ थियो ।
प्रदेशसभाको आज बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भनी सदनसमक्ष प्रस्ताव पेस गरे ।
उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । विधेयकमाथिको छलफलमा भाग लिँदै सदस्य मैया श्रेष्ठले संशोधनमा अपाङ्गतामैत्री भवन निर्माण गर्नुपर्ने सुझाव दिइन् ।
यसअघि सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सदस्यले विभिन्न समयमा सदनमा राखेका जिज्ञासाको जवाफ दिएका थिए ।
प्रदेशसभाको विशेष समयमा नेकपा (माओवादी केन्द्र) की गीता तिमल्सिनाले शिक्षा र स्वास्थ्यमा आवश्यक बजेट वृद्धि गर्नुपर्ने सुझाव दिइन्।
प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन किसानलाई समयमा मल बीउ उपलब्ध गराउन उनले सरकारसँग माग गरिन् ।
प्रदेशसभाको शून्य समयमा तिलचन पाठक, रोहितबहादुर कार्की, कमला दर्नाल, विजयकुमार राई, डोल्मा तामाङ र गोविन्द गिरीले कैदीको सिदा रकम वृद्धि, तेह्रथुममा जिल्ला र पालिकाका जोड्ने सडक निर्माण, सामुदायिक विद्यालयमा खेल मैदान बनाउनुपर्नेजस्ता सुझाव दिएका थिए ।
प्रदेशसभाको अर्को बैठक बुधबार दिनको २ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले सदनलाई जानकारी गराए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया