इलामको आधा जनसङ्ख्या स्वास्थ्य बीमाको पहुँचमा

विहीबार, ०१ फागुन २०८१
इलाम : इलाम सरकारले इलामबाट सुरु गरेको स्वास्थ्य बीमामा जिल्लाका करिब आधा जनसङ्ख्या यसको पहुँचमा पुगेका छन् । पछिल्लो समय स्वास्थ्य बीमा गराउनेको सङ्ख्या वृद्धि हुँदै गएको हो । जिल्लाका करिब डेढ लाख भन्दा बढी नागरिकले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा बोर्ड इलामका अनुसार बीमामा हालसम्म एक लाख ७४ हजार ३९ जना आवद्ध भएका हुन् । जिल्लामा २०७८ को जनगणना अनुसार इलामको कुल जनसङ्ख्या दुई लाख ७९ हजार पाँच सय ३४ रहेको छ । यसरी हेर्दा स्वास्थ्य बीमामा ६२।२६ प्रतिशत आबद्ध भएको तथ्याङ्क छ । स्वास्थ्य बिमा बोर्ड इलामका सूचना अधिकारी प्रदीप नेपालका अनुसार पछिल्लो समय बिमा गर्नेहरूको सङ्ख्या बढ्दै गए पनि सत प्रतिशत हुन सकेको छैन । भौगोलिक विकटता र अस्पतालको सहज पहुँचका कारण पनि शतप्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको हुन सक्ने तनुमान गरिएको छ । जिल्लाको दश वटै स्थानीय तहमध्ये गएको असार सम्ममा सबै भन्दा बढी सूर्योदय नगरपालिकाका स्थानीयले यो सेवा लिएका छन् । सबै भन्दा कम माङसेबुङ गाउँपालिकाका नागरिकले यो सेवा लिएका हुन् । सूर्योदय नगरपालिकामा ३५ हजार २८२ जना, इलाम नगरपालिकामा ३४ हजार ७८० जना, देउमाइ नगरपालिकामा १८ हजार ३० जना, माई नगरपालिकामा २१ हजार ३४३ जना, चुलाचुली गाउँपालिकामा १६ हजार १७९, र रोङ गाउँपालिकामा ८ हजार ४८ जना स्वास्थ्य बीमामा आबद्ध छन् । यस्तै, सन्दकपुर गाउँपालिकामा ६ हजार ९५९ जना, माङसेबुङ गाउँपालिकामा ५ हजार २५४ जना, फाकफोकथुम गाउँपालिकामा ६ हजार ६४० जना र माइजोगमाई गाउँपालिकामा १२ हजार ६० जना स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयले जनाएको छ । गएको आर्थिक वर्षमा एक लाख ५२ हजार ४ सय १६ जना बिमा कार्यक्रममा आबद्ध भएका थिए । जिल्लामा सदरमुकाममा रहेको इलाम अस्पताल सहित नगर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेका छन् । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु। तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएका प्रति सदस्यको रु सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । स्वास्थ्य बिमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले नै प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ । सरकारले बीमामा आबद्ध पाँच जना सदस्यलाई वार्षिक रु एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, ड्रेसिङ, घाउ चिरफार, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ । स्वास्थ्य बिमा कार्यक्रम गगन थापा स्वास्थ्य मन्त्री रहँदा सुरु भएको हो । हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन काम थालेका छन् । एक लाखको उपचार सेवालाई बढाएर पाँच लाख पुर्‍याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । हाल सरकारले तोकेको झन्डै एक हजार एक सय ३३ प्रकारका निःशुल्क औषधि स्वास्थ्य बीमाबाट प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार