कोशी प्रदेशसभामा पेस भएको ‘आमसञ्चार विधेयक’मा रहेका त्रुटीपूर्ण विषय संशोधन गर्न माग

विहीबार, ०१ फागुन २०८१
मोरङ : कोशी प्रदेशसभामा पेस भएको प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका त्रुटीपूर्ण विषय संशोधन गर्न सरोकारलाले जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश र मोरङ शाखाद्वारा आज विराटनगरमा संयुक्त रूपमा आयोजित ‘कोशी प्रदेशसभामा पेस भएको प्रादेशिक आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ बारे छलफलमा सहभागीले प्रदेश सरकारले ल्याउन लागेको विधेयक र सञ्चार प्रतिष्ठानको विषयमा संशोधनको आवश्यकता औँल्याएका छन् । कोशी प्रदेशमा नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले विधेयकमा देखिएका कमीकमजोरीलाई आवश्यक छलफलबाट अघि बढाउन प्रदेश सरकारसमक्ष माग गर्ने बताए । कोशी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक विदुर लिङ्थेपले संशोधन गर्नुपर्ने विषय बुँदागत रूपमा उपलब्ध गराउन आग्रह गरे । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शङ्कर खरेलले पत्रकारको हकहित संरक्षण गर्नुपर्ने प्रतिष्ठान दण्डतर्फ केन्द्रित भएको आरोप लगाए । उनले प्रतिष्ठानलाई स्वायत्त संस्था बनाउनुपर्ने सुझाव दिए । पत्रकार महासङ्घ कोशी प्रदेशका पूर्व महासचिव विवेक गौतमले कार्यपत्रपत्र प्रस्तुत गर्दै विधेयकको विषयमा भएका कमी कमजोरीलाई प्रष्ट पारे । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ र समाजवादी प्रेस सङ्गठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेलले प्रदेश रजिष्ट्रारलाई दिइएको हक अधिकारमा आपत्ति जनाउँदै संशोधन गर्नुपर्ने सुझाव दिए । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले विधेयकका केही विषयमा संशोधन गर्न सकिने बताए । यसैबीच विधेयकमा देखिएका कमीकमजोरी सच्याउन आवश्यक सुझाव दिन नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले प्रदेशसभा, सभामुख तथा विभिन्न राजनीतिक दललाई सुझावको संशोधन पत्र बुझाउनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार