१५ औँ संस्करणको इटहरी गोल्डकप सुरू, उद्घाटन खेलमै आयोजक पराजित

शनिबार, ०३ फागुन २०८१
इटहरी : १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट सुरू भएको छ । इटहरी रङ्गशालामा प्रतियोगिताको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरेका छन् । उद्घाटनसँगै सम्पन्न भएको पहिलो खेलमा आयोजक टोली पराजित भएको छ । पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ११ औँ मिनेटमा आयोजक राजा क्लबका लागि विदेशी खेलाडी एलेक्सले गोल गरे । खेलको २१ औँ मिनेटमा यूकेएफसीका लागि सत्यम शर्माले गोल फर्काएका थिए । पहिलो हाफमा १–१ बराबरीमा खेलेपनि हाफपछि यूकेएफसीका लागि हेमराज भुजेलले थप १ गोल गर्दै टिमलाई सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो । खेलको म्यान अफ दि म्याच यूकेएफसीका सत्यम शर्मा घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आइतबार साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५ औँ बुढासुब्बा गोल्डकपको विजेता एनआरटी क्लब काठमाडौँबिच प्रतिस्पर्धा हुनेछ । फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा नेपालका सात तथा एक विदेशी टिम गरी आठ टोलीको सहभागिता रहेको आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ । सहभागी टोलीहरूमा भारतको यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, झापा एघार फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति क्लब, एनआरटी क्लब काठमाडौँ, सगरमाथा यूथ क्लब मोरङ र धरान फुटबल क्लब छन् । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उप–विजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार