इटहरी : कोशी प्रदेशसभामा प्रदेश सरकारले नेतृत्व गरिरहेको दल नेकपा (एमाले)सहितका दलले ताप्लेजुङमा भएको विवादलाई वार्तामार्फत समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतबारको प्रदेश सभाको बैठकमा विवादलाई वार्तामार्फत समाधानका लागि माग माग गरिएको हो । नेकपा एमालेको तर्फबाट दलका उपनेता समेत रहेका सांसद तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई वार्ता र छलफलबाट समाधान हुनुपर्ने बताए ।
यस्तै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समेत सरकारले वार्ता र छलफल गर्नुको साटो दमनको बाटो रोजेको भन्दै आपत्ति समेत जनाए ।
यस्तै, प्रदेशसभामा बोल्दै राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले पनि केबलकार निर्माणको काम स्थगित गरेर वार्ता र छलफल गर्न सरकारको ध्यानाकर्षण गराउँदा जसपाकी सांसद निर्मला लिम्बूले पनि पाथीभरा क्षेत्रमा भएको भिडन्त र विवादको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।
माओवादी केन्द्र कोशी प्रदेश कमिटीले समेत ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको विवाद वार्ताबाटै समाधानका लागि अपिल गरेको छ ।
कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्तिमा भनिएको छ,‘आन्दोलनकारी पक्षले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने प्रस्ताव राखेकोमा सरकारले अहिलेसम्म त्यसतर्फ चासो दिएको छैन । बरु प्रशासनिक दमन चलाउने, सकारकै संरक्षणमा आन्दोलनविरुद्ध प्रतिकार आन्दोलन थाल्नु, आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरी प्रशासनबाटै हुनु र आन्दोलनकारीमाथि चरम दमन गर्ने काम गरिरहेको छ । हाम्रो पार्टी त्यस कार्यको घोर निन्दा र भत्र्सना गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न सरकार र आन्दोलनकारी दुवै पक्षलाई संयमताको साथ अगाडि बढ्न अपिल गर्दछ ।’
खासगरी शनिवार साँझ केबलकारको विषयमा भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको अवस्था रहेको छ । झडपमा दर्जन बढी घाइते भएको जनाइएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया