विराटनगरमा वडा सदस्यले चलाएको स्कुटर दुर्घटनामा परेर घाइते भएका पुरुषको मृत्यु

आइतबार, १८ फागुन २०८१
विराटनगर । विराटनगरमा वडा सदस्यले लाएको स्कुटर ट्रकमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका १ जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो । लामिछानेले मापसे (मादक पदार्थ सेवन) गरेर स्कुटर चलाएको पत्ता लागेको छ । विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा यही फागुन ११ गते राति ९ः२० बजेतिर स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार होटखोलाबाट शनिहाटतर्फ आउँदै गरेको स्कुटर ट्रकको पछाडिबाट ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र स्कुटरको पछाडि सवार विराटनगर–७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले उपचाररतमध्ये तिवारीको आज (आइतबार) बिहान मृत्यु भएको जानकारी दिए । उनका अनुसार बिहान ६ः३५ बजेतिर तिवारीलाई चिकित्सकले मृत घोषित गरेका हुन् । स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा उनले मापसे गरेर स्कुटर चलाएको पत्ता लागेको हो । मापसे गरेर सवारीसाधन चलाउन पाइँदैन । स्कुटर, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार