खानेपानी मन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलद्धारा वास क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, १९ फागुन २०८१
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले आज खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आज सोमबार नेपाल र भारतबिच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको हो । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक विशेष कार्यक्रमकाबीच खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी महत्त्वपूर्ण समझदारी पत्रमा नेपाल सरकारकारतर्फबाट मन्त्री यादव तथा भारत सरकारकारतर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलद्धारा हस्ताक्षर भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘भारत र नेपाल सरकार बिच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवर्द्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौँतापत्रको लक्ष्य रहेको छ ।’ भारत गणराज्य सरकार र नेपाल सरकार दुवै देशहरूबिच मैत्रीपूर्ण सहकार्यलाई प्रवर्द्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ गर्ने आकाङ्क्षा राख्दै, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयासहरू तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्दै, सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य राखिएको उक्त सम्झौँतापत्रमा उल्लेख गरिएको छ । सम्झौतामा भूमिगत पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख गरिएको छ । उक्त सम्झौताले भारत र नेपालबिच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ । कार्यक्रममा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, भारत सरकारको जलशक्ति मन्त्रालयका सचिव द्वय अशोक मिणा, देवश्री मुर्खजी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । शनिवार भारतको औपचारिक भ्रमणका लागि प्रस्थान भएका मन्त्री यादव भोली मङ्गलवार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार