विराटनगर : नेकपा (एमाले) मोरङको १० औं अधिवेशनका लागि ३ सय २५ जनाको उम्मेदवारी परेको छ ।
प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कार्यसमितिका लागि ३ सय २५ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कमिटीले सोमबार राति उम्मेदवारको नामावली प्रकाशन गरेको थियो ।
प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज (मंगलबार) बिहान दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम छ । एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बिहान ९ बजेबाट मतदान सुरु गर्ने तयारी रहेको उनले बताए ।
नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिए पनि त्यो सम्भावना टरेका कारण निर्वाचन प्रक्रिया अवलम्बन गर्नुपर्ने अवस्था आएको हो ।
श्रेष्ठका अनुसार विविध प्राविधिक कारणले सोमबार निर्वाचन सम्भव भएन । फागुन १७ गते शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, मनोनित प्रतिनिधिको विषयमा विवाद बढेपछि अधिवेशन लम्बिएको छ ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् ।
दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छानिएका छन् ।
नयाँ नेतृत्व चयानका लागि प्रतिनिधिले मतदान गर्ने छन् । मतदानपछि विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा मतगणना हुने जानकारी श्रेष्ठले दिए ।
प्रतिक्रिया