श्रीमानसँगको विवादपछि ४५ वर्षीया महिलाले शरीरमा लगाइन् आगो

मंगलबार, १६ बैशाख २०८२

 काठमाडौं । काठमाडौंको बालाजुस्थित जागृति टोलमा आइतबार राति एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन्। पारिवारिक विवादका कारण उत्पन्न तनावपछि ४५ वर्षीया बिना श्रेष्ठले आत्मदाह प्रयास गरेकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार आइतबार राति करिब १० बजे श्रेष्ठले श्रीमानसँगको भनाभनपछि पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी थिइन्।

घरभित्रै पेट्रोल प्रयोग गरेर आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

घटनापछि छिमेकी र परिवारजनले उनलाई तुरुन्त उद्धार गरी नयाँबजारस्थित पिपल्स अस्पतालमा भर्ना गराएका थिए। अस्पताल स्रोतका अनुसार श्रेष्ठको पेट, छाती र बायाँ हातमा गरी करिब २५ प्रतिशत शरीर जलेको छ।  उनको अवस्था खतरामुक्त भए पनि गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

हाल प्रहरी वृत्त बालाजुले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। श्रेष्ठ र उनका श्रीमानबीच पहिले पनि पटक–पटक घरायसी विवाद हुँदै आएको प्रारम्भिक बुझाइ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट प्रयोग भएको पेट्रोलको कन्टेनर बरामद गरेको छ भने परिवारका सदस्यहरूसँग सोधपुछ गरिरहेको छ। आत्मदाह प्रयासको कारण र त्यसमा अन्य कोहीको संलग्नता छ वा छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार