इटहरी : अनलाइनमार्फत किनमेल गर्ने चलन पछिल्ला वर्षहरूमा कोशी प्रदेशको धरान,इटहरी,विराटनगर जस्ता शहरी क्षेत्रका उपभोक्तामाझ तीव्र गतिमा फैलिएको छ।
यही प्रवृत्तिको फाइदा उठाउँदै अनलाइन ‘स्टोर’को नाममा ठगी धन्दा चलाउने गिरोहहरू मौलाउँदै गएका छन्। विश्वसनीय ब्रान्ड देखाएर सामान अर्डर गर्न लगाउने अनि पैसा उठाएर सम्पर्कविहीन हुने प्रवृत्तिले धेरै उपभोक्तालाई चक्मा दिएको छ।
पछिल्लो उदाहरण हो;पूर्वाञ्चल विश्वविद्यालय,गोठगाउँमा बीपीएच अध्ययनरत एलिसा श्रेष्ठको। उनी केही दिनअघि टिकटकमार्फत सञ्चालित ‘स्लिपर सेल स्टोर’ नामको अनलाइन एकाउन्ट मार्फत १ हजार ७ सय रुपैयाँको जुत्ता अर्डर गर्छिन्।
आइडी सञ्चालक विराटनगरका कृष्ण महतोले पहिला १ हजार रुपैयाँ भुक्तानी गर्न आग्रह गरे। एलिसाले 'आइएमइ पे' को क्युआर स्क्यान गरेर सो रकम तिरिन् र बाँकी ७ सय रुपैयाँ सामान पाएको दिन दिने सहमति भयो।
एलिसाले एक हप्ता बढी जुत्ता आउने आसमा पर्खिन तर,न त जुत्ता आइपुग्यो,न त महतोको फोन नै उठ्न थाल्यो।
उल्टै एलिसाको नम्बर ‘ब्लक लिस्ट’ मा राखियो। उनले प्रयोग गर्ने मोबाइल नम्बर ९७६३३४४६०४ मा सम्पर्क प्रयास गरे पनि फोन उठेन। जब अन्य नम्बरबाट सम्पर्क गरियो, महतोले उठाएका थिए। अझै पनि उनी सोही टिकटक आइडीमार्फत विभिन्न सामानको अर्डर लिइरहेका छन्।
"म जस्तै अरू धेरैलाई ठगिएको हुनुपर्छ,यस्ता ठगलाई कारबाही हुनुपर्छ,"एलिसा आक्रोश पोख्छिन्।
यसरी अनलाइनमार्फत ठगीमा परेका एक मात्र एलिसा होइनन्। धरान बरगाछीका सबिन महर्जनले पनि अनलाइनबाट ३ हजार ३ सय रुपैयाँमा टिसर्ट अर्डर गरेका थिए। उनले सम्पूर्ण रकम अग्रिम रूपमा तिरिसके पनि सामान डेलिभरी भएन।
"घरमै डेलिभरी गर्छु भनेर अर्डर गरेको थिए,अहिले फोनै लाग्दैन,"सबिनले सुनाए।
ठगीका घटना यत्तिमै सीमित छैनन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पछिल्ला तीन महिनामा अनलाइन ठगीसम्बन्धी एक दर्जनभन्दा बढी मौखिक उजुरी दर्ता आएका छन ।
प्रहरीले केही उजुरीमा प्रारम्भिक अनुसन्धान थालेको भए पनि अधिकांश घटनामा दोषी समात्न सकिएको छैन।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले अनलाइन ठगिएका मुद्धाहरु प्रहरीमा दैनिकजसो आउने गरेको बताउँछन् ।
प्रहरीका अनुसार अनलाइन पेजहरू बनाउने,ब्राण्डेड नाम झल्काउने तस्बिर पोस्ट गर्ने,सामान अर्डर गराउने अनि भुक्तानी भएसँगै सम्पर्क काट्ने प्रवृत्ति बढ्दो छ । केही केसमा पर्सनल नम्बर वा फेक फेसबुक एकाउन्टबाट मात्र सम्पर्क गरिने हुँदा कारबाही गर्न पनि मुस्किल हुने गरेको प्रहरीले जनाएको छ ।
अनलाइन ठगीको पछाडि कानुनी खाल्डो पनि प्रमुख कारण हो । इन्टरनेट आधारित अपराधमा स्पष्ट र कडाभन्दा कडा कानुनी व्यवस्था नहुँदा यस्ता कार्य गर्नेहरूको मनोबल बढेको देखिन्छ ।
डिजिटल बजार विस्तार सँगसँगै डिजिटल सुरक्षा र उपभोक्ता सचेतना आवश्यक भइसकेको बेला हो यो । अनलाइन सामान खरिद गर्दा पेजको प्रमाणिकता जाँच्ने,अग्रिम भुक्तानी नगर्ने,डेलिभरी प्रणाली हेर्ने जस्ता सावधानी अपनाउन विज्ञहरूको सुझाव छ ।
सरकारले एकातर्फ डिजिटल नेपालको सपना देखाइरहँदा अर्कोतर्फ नागरिक अनलाइन ठगिन थालेका छन् । त्यसैले, अनलाइन कारोबारमा विश्वासिलो प्रणाली, प्रहरीको सक्रियता र ठगी गर्नेहरूलाई कडा कारबाहीका लागि कानुनी सुधार अत्यावश्यक भएको देखिन्छ । नत्र, एलिसा जस्ता सयौँ नेपाली अनलाइनको विश्वासमा ठगिँदै जानेनछ र त्यो सपना,दुःस्वप्नमा बदलिँदै जानेछ ।
प्रविधिको विकाससँगै डिजिटल बजारको प्रयोग बढ्न थालेको छ। तर, अनलाइन कारोबार गर्ने नियमन प्रणालीको अभावले गर्दा उपभोक्ताहरू दैनिकजसो ठगीको सिकार भइरहेका छन्। सामाजिक सञ्जालमा बनेका अनलाइन पेजहरू कुनै वैधानिक दर्ता विना चलाइएका छन्,जसले यस्ता ठगहरूलाई झन् हौसला दिएको देखिन्छ।
प्रतिक्रिया