सुटकेसभित्र महिलाको शव प्रकरण : आरोपी लक्ष्मण पासवान आत्महत्या प्रयास गर्दागर्दै पक्राउ

बुधबार, ११ भदौ २०८२

रौतहट । रौतहटमा सुटकेसभित्र महिलाको शव भेटिएको घटनामा संलग्न आरोपी लक्ष्मण पासवान आत्महत्या प्रयासका क्रममा पक्राउ परेका छन्।

माधवनारायण नगरपालिका–६ माधवपुरका पासवान बिसुनपरवा–मानपुर सडकखण्डमा जलेको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार उनले आफूलाई आफैं जलाएका थिए। घाइते अवस्थामा उद्धार गरी गरुडास्थित अस्पताल पुर्‍याइएको र अहिले त्यहाँ उपचार भइरहेको प्रहरीले जनाएको छ।

डिएसपी कार्कीका अनुसार पासवान प्रारम्भिक बयानमा हत्याको आरोप स्वीकार गरेका छन्। थप उपचारका लागि उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ।

गत शनिबार राति गौर नगरपालिका–९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलवा गेट नजिक सडक किनारमा सुटकेश फेला परेको थियो। भोलिपल्ट सुटकेश खोल्दा २६ वर्षीया रूवीकुमारी साहको शव भेटिएको थियो।

भारतको मुजफ्फरपुर घर भएकी साह चार वर्षदेखि रौतहटमा बस्दै आएकी थिइन्। माइती माधवपुर भए पनि उनी गौर नगरपालिका–२ महादेवपट्टिमा बस्दै छोरालाई पढाउँदै आएकी थिइन्।

उनका श्रीमान भारतमै रहेका र घटनापश्चात रौतहट आइपुगेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार