मोरङ कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेकी महिला मृत फेला

बुधबार, ११ भदौ २०८२

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङभित्र बुधबार बिहान ३२ वर्षीया महिला कैदी मृत फेला परेकी छन् । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी राधा भट्टराई (राधिका भनिने)को शव शौचालयभित्र घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार बिहान करिब साढे चार बजे शौचालयभित्र ढोका भित्रैबाट चुक्कुल लगाएर उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन् । 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेजस्तो देखिने जानकारी दिइन् । घटनापछि अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ भने आफन्तलाई खबर गरिएको कारागार प्रशासनले जनाएको छ । आफन्त आइपुगेपछि शवलाई पोस्टमार्टमका लागि पठाइने जेलर ढुंगेलले बताए । 

भट्टराईलाई यसअघिदेखि नै  ‘डिप्रेसन’को समस्या रहेको जेलर ढुंगेलले बताए । उनी २०८० माघ पहिलो साता आफ्ना दुई सन्तानसहित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हामफालेकी थिइन् । सो क्रममा स्थानीयले उनलाई र छोरालाई बचाएका थिए । तर छोरीको मृत्यु भएको थियो ।

सो घटनापछि प्रहरीले उनलाई माघ ५ गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । सुनसरी जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको थियो । पछि अदालतले दोषी ठहर गर्दै जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाएको थियो । उक्त फैसला २०८१ कात्तिक ७ गते भएको हो ।

जन्मकैदको सजाय भुक्तान गरिहेका बेला बुधबार बिहान सलको पासो लगाएर मृत्यु भएको अवस्थामा शव भेटिएको हो । जिल्ला कारागार मोरङमा हाल आश्रित दुई बालकसहित १०७ जना महिला कैदीबन्दी रहेका छन् । भट्टराईसहित १०८ जना थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार