२६ एजेण्डा सहित धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज, आउला त बजेट ?

बुधबार, ११ भदौ २०८२

धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज (बुधवार)  दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।  नगरप्रमुख हर्कराज राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका अनुसार बैठकमा २६ वटा एजेन्डा समावेश छन्।

बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम पारित गर्ने, बजेट सिलिङ अनुमोदन गर्ने, ब्रेक डाउन भएर आएका बजेटहरू पारित गर्ने, कर्मचारीको तह वृद्धि गर्ने, योजना स्वीकृति दिने र नगर गान पारित गर्नेजस्ता महत्त्वपूर्ण विषयहरू उठाइने उल्लेख छ।

बैठकको प्रमुख चर्चाको विषय भने फेरि एक पटक विवादित 'मेयर भिजन' र 'उपमेयर भिजन' भएको छ। यी शीर्षकमा गत वर्षदेखि छुट्टै बजेट विनियोजन हुँदै आएको छ, तर यस पटक त्यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा सहमति जुट्न भने सकेको छैन।

स्रोत अनुगमन तथा सीमा निर्धारण समितिमा एमालेका प्रतिनिधिहरूले यस विषयमा असहमति जनाएका छन्। उनीहरूको भनाइमा 'मेयर र उपमेयर भिजन' नामको सट्टा ‘नगर गौरव योजना’ वा अन्य सामूहिक पहिचान दिने खालका शीर्षकमा बजेट ल्याइनु उपयुक्त हुन्छ। कांग्रेस र माओवादी पक्षबाट भने सहमति जनाई सकिएको छ।

बजेटको कुल आकारमा पनि विवाद देखिएको छ। उपमेयर आइन्द्र विक्रम बेघा संयोजक रहेको बजेट तर्जुमा समितिले रु १ अर्ब ६० करोडको सिफारिस गरे पनि स्रोत अनुगमन तथा सीमा निर्धारण समितिले रु २ अर्ब २० करोड ७४ लाखको बजेट प्रस्ताव गरेको छ।

यसबारे नेकपा एमालेका कार्यपालिका सदस्यहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै फेसबुकमा प्रश्न उठाइरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र नगर सभा गरेर बजेट पारित गरिनुपर्ने कानुनी प्रावधान छ। तर धरानले अझै पनि बजेट पास गर्न सकेको छैन।

यसअघि असार ८ गते बसेको कार्यपालिका बैठक ‘विधिसम्मत नभएको’ भन्दै उपमेयरसहित अन्य सदस्यहरूले असहमति जनाएर बैठक स्थगित गराएका थिए। असार ३२ गते बसेको अर्को बैठकमा समेत बजेट सम्बन्धी कुनै एजेन्डा समावेश गरिएको थिएन।

आजको बैठकबाट मेयर–उपमेयर भिजन र बजेटको आकार लगायतका विवाद समाधान हुने कि अझ गहिरिने भन्ने कुराले राजनीतिक र नागरिक दुवै वृत्तको चासो बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार