धनुषामा तेस्रो नेपाल सर्प महोत्सव हुँदै

मंगलबार, १० भदौ २०८२
सांकेतिक फाईल

धनुषाधाम : धनुषाको मिथिला विहारी नगरपालिका–२ पुरनदाहामा तेस्रो नेपाल सर्प महोत्सव हुने भएको छ । मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा आगामी असोज २ र ३ गते दुईदिने महोत्सव आयोजना हुने ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए । 

यसअघि पहिलो नेपाल सर्प महोत्सव नवलपरासी (पश्चिम) मा र दोस्रो महोत्सव रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न भएको थियो । सर्पसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष मण्डलले बताए । महोत्सवमा सर्पसम्बन्धी जनचेतनामूलक नाटक, कविता वाचन, डकुमेन्ट्री प्रसारण, गीतसङ्गीतलगायत कार्यक्रम हुनेछन् । 

साथै यस महोत्सवमा सर्पसम्बन्धी विशेषज्ञ चिकित्सकको टोलीले सर्पदंशपछि गर्नुपर्ने प्राथमिक उपचारसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि राखिएको अध्यक्षले बताउनुभयो । महोत्सवमा ‘सर्प म्युजियम’ समेत रहनेछ । जसमा तराई–मधेसमा पाइने विभिन्न प्रजातिका सर्प प्रदर्शन गरिनेछ । देशभरका अधिकांश सर्पविज्ञ र अनुसन्धानकर्ताहरूलाई कार्यक्रममा सहभागी गराउने आयोजकको तयारी छ । 

महोत्सवबाट पाँच हजार बढी सर्वसाधारणमा सर्पप्रति नकारात्मक धारणा परिवर्तन र अगामी दिनमा सर्पदंशजन्य मृत्युदर न्यूनीकरणका हुने आयोजकको लक्ष्य छ । यस महोत्सवले मानव र सर्प बीचको सह–अस्तित्वलाई बढावा दिने उद्देश्य रहेको अध्यक्ष मण्डलको भनाइ छ ।

अध्यक्ष मण्डलका अनुसार सर्पले वातावरणीय सन्तुलन कायम गर्न, कीराफट्याङ्ग्रा नियन्त्रण गर्न र केही लोपोन्मुख चराको आहारका रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यस्तै, औषधीय दृष्टिले पनि सर्पको विषबाट घातक रोगका उपचारका औषधि उत्पादन हुने भएकाले यसको संरक्षण आवश्यक छ ।

नेपालमा वार्षिक करिब तीन हजार मानिस सर्पदंशका कारण ज्यान गुमाउने गरेको तथ्याङ्क बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिनेभा विश्वविद्यालय तथा विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूले सन् २०१८ र २०१९ मा संयुक्त रूपमा ल्याएको ‘रिपोर्ट’मा उल्लेख छ ।

यता नेपाल सरकारले गरेको अध्ययनमा सर्पको टोकाइबाट हरेक वर्ष करिब एक हजार मानिस अस्पताल भर्ना हुने गरेको देखाइएको छ । अध्ययनहरूका अनुसार सर्पदंशबाट महिलाहरू र बालबालिकामा बढी मृत्यु हुने गरेको पाइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार