खाँदबारी : संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहा च्यानडाँडामा सुक्खा पहिरो खस्दा स्थानीय धर्मगुरु दोर्ची लामाको घर पूर्ण रूपमा भत्किएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार आज बिहान खसेको पहिरोले जस्तापाताले छाएको दुईतले ढुङ्गामाटोको घर पूरै क्षति बनाएको हो । घटनामा मानवीय वा पशुचौपायाको क्षति नभए पनि करिब पाँच लाख रूपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
पीडित परिवारका अनुसार लामाको घर पहिल्यै जोखिममा थियो । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्ड निर्माणका क्रममा एक्स्काभेटरले ढुङ्गा फुटाउँदा जमिन चिराचिरा परेर घरमा प्रत्यक्ष असर परेको उनीहरूको आरोप छ ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाइएपछि अहिले सडक आवागमन सामान्य भएको छ । धर्मगुरुका रूपमा पुरोहित कर्मकाण्ड गर्दै आएका लामा स्थानीय बासिन्दाले संयुक्त रूपमा घर बनाई बसोबासको व्यवस्था मिलाएका व्यक्ति हुन् ।
प्रतिक्रिया