झापामा पिकअप र मारुती भ्यान ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते

मंगलबार, १० भदौ २०८२

झापा : झापाको कन्काई नगरपालिका–८ बिरीङ पुलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मंगलवार राति करिब ८स्४० बजे सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट गइरहेको मे १ च ३४४० नम्बरको मारुती भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मारुती भ्यान चालक गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्। मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ। उनको पहिचान एकीन भइसकेको छैन ।

सोही भ्यानमा सवार झापा शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया श्रीमती पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्। साह परिवारका चारै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा संलग्न पिकअप र भ्यानलाई नियन्त्रणमा लिइएको छ भने पिकअप चालक, धनकुटा महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय सुमन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार