बर्दिबास : तीज पर्वलाई सामाजिक चेतना जगाउने अवसरका रूपमा उपयोग गर्दै बर्दिबासमा बालविवाह अन्त्यका लागि विशेष अभियानमूलक कार्यक्रम सम्पन्न भएको छ । ‘युथ फर चेन्ज’को आयोजनामा तथा ‘सेभ द चिल्ड्रेन’, ‘सिफ्ट’, ‘लियो क्लब अफ बर्दिबास’ र ‘दीपक पार्टी प्यालेस’को सहकार्यमा आयोजित कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, विद्यार्थी र युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।
“नै कर्बै बालविवाह, नै त होतै हमर जीवन तबाह” भन्ने मूल नाराका साथ भएको कार्यक्रममा चित्रकला र सन्देश लेखनमार्फत बालविवाहविरुद्ध जनचेतना फैलाइएको थियो । सहभागी व्रतालु महिला, बालबालिका, किशोर–किशोरी र युवाहरूले साडीमा आफ्ना विचार तथा संदेश लेख्दै बालविवाह न्यूनीकरणमा योगदान गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद शारदा देवी थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री, उपमेयर तारा देवी, उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का लगायतका जनप्रतिनिधि र बुद्धिजीवीहरूको उपस्थिति थियो । उनीहरूले पनि साडीमा सन्देश लेख्दै बालविवाह अन्त्यका लागि दृढ प्रतिबद्धता व्यक्त गरे ।
जनप्रतिनिधिहरूले तीज पर्वलाई धार्मिक उत्सव मात्र नभई सामाजिक रूपान्तरण ल्याउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै बालविवाह जस्तो हानिकारक प्रथालाई अन्त्य गर्न सबै मिलेर अभियान चलाउनुपर्ने धारणा व्यक्त गरे ।
साडीमा लेखिएका सन्देशहरूमा “बालिका दुलही होइन, भविष्य निर्माणकर्ती हुन्”, “बालविवाह अन्त्य हाम्रो साझा जिम्मेवारी”, “शिक्षा नै छ बालविवाह रोक्ने मूल आधार” जस्ता सशक्त अभिव्यक्तिहरू समावेश थिए ।
आयोजक संस्था ‘युथ फर चेन्ज’का अनुसार यस अभियानले समुदायमा बालविवाहविरुद्धको जनचेतना अभिवृद्धि गर्ने र तीजलाई सामाजिक रूपान्तरणको पर्वका रूपमा स्थापित गर्ने महत्वपूर्ण योगदान पुर्याएको छ ।
प्रतिक्रिया