अनलाइन सञ्चार दर्ता–नवीकरण तत्काल खुलाउन सरकारलाई पत्रकार महासङ्घको ७२ घण्टे अल्टिमेटम

बुधबार, ११ भदौ २०८२

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण तत्काल खोल्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ।

महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको टोलीले बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै अनलाइन सञ्चारमाध्यमलाई परेको असहजतालाई समाधान गर्न चेतावनी दिएको हो।

महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अवरुद्ध दर्ता–नवीकरण तत्काल खुला नभए महासङ्घ आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ।

ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यमलाई सहज बनाउन सङ्क्रमणकालीन व्यवस्था मिलाइने र चाँडै नयाँ नियमावली ल्याइने आश्वासन दिएका छन्।

सो क्रममा मन्त्रालयकी सचिव राधिका अर्यालले पनि दर्ता र नवीकरण प्रक्रियालाई सहज बनाउन पहल हुने बताइन्।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधनपछि अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरण स्थानीय प्रशासनमार्फत गर्ने व्यवस्था लागू भएपछि देशभर उक्त प्रक्रिया अवरुद्ध भएको हो।

ज्ञापनपत्र बुझाउन पुगेका प्रतिनिधिमण्डलमा उपाध्यक्ष उमिद बागचन्द, सचिव सोनी शर्मा र प्रकाश धौलाकोटी, केन्द्रीय सदस्यहरू रामेश्वर कार्की, अर्जुन पन्त, मनुका कुँवर, पवित्रा मुडभरी, राजकरण महतो, भूपराज बस्याल लगायत सहभागी थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार